काठमाडौं । साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ ।
बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै उक्त व्यवस्था मिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कालोबजारी नियन्त्रणका लागि ३ हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको बताइएको छ ।
यसका साथै अवैध रुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले टोलीले राजधानी काठमाडौँका विभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो ।
उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउट लेट, खुद्रा विक्रेता सङ्घ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् ।
यो चिनी प्रतिकिलो ११५ रूपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएको निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीले आजदेखि साल्ट ट्रेडिङ कालिमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।
नेपाली चिनी उद्योगको संरक्षणका लागि सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगहरूले भने उपभोक्ताका लागि भन्दा चिनी खपत हुने अन्य उद्योगका लागि चिनी बिक्री गर्ने गरेपछि सङ्कट उत्पन्न भएको थियो । सरकारको पहलपछि अहिले बजारमा चिनीको अभाव नहुने भएको छ ।




















प्रतिक्रिया