काठमाडौं । नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको विशेष बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक शनिवार (भोलि) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको बताइएको छ ।
समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ ।
एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ भने सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि सोही दिन कार्यक्रम राखेका छन् ।
त्यस्तै एमाले जनसंगठनले पश्चिमको भूकम्प प्रभावित जिल्लामा एक हजार स्वयंसेवक खटाएर अस्थायी आवास निर्माण गर्न निर्णय यसअघि नै गरिसकेको छ ।




















प्रतिक्रिया