काठमाडौं- इन्टरनेट नभए पनि अब डिजिटल कारोबार गर्न सकिने भएको छ। एक करोड ९४ लाख ग्राहक रहेको टेलिकमको मोबाइलमार्फत अफलाइन डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो। यससँगै ग्रामीण भेगका जनताले पनि डिजिटल वालेट उपयोग गर्न पाउने भएका छन्।
नेपाल टेलिकमको सहायक कम्पनीमार्फत सुरु भएको ‘नमस्ते पे’मार्फत इन्टरनेटको पहुँचमा नभएका ग्राहकले पनि डिजिटल भुक्तानी गर्ने सुविधाले नेपालको डिजिटल युगको दायरालाई निकै अगाडि बढाउने बताइएको छ।
हाल भुक्तानी सेवाप्रदायक इसेवा, आइएम डिजिटल, खल्तीलगायतका मोबाइल वालेटबाट मात्रै मासिक १२ अर्ब ६९ करोडको कारोबार हुँदै आएको छ। यस्ता सेवाप्रदायकबाट एक करोड २५ लाखपटक कारोबार भएको राष्ट्र बैंकको भनाइ छ।
यद्यपि, २८ भन्दा बढी सेवाप्रदायकहरूले सञ्चालनमा ल्याएको वालेट प्रयोगकर्ताहरूको संख्या ८८ लाख ८५ हजार मात्रै छ। २९ भदौबाट सञ्चालनमा आएको ४० करोड चुक्ता पुँजी रहेको नेपाल डिजिटल्स पेमेन्ट कम्पनीमा ५६ प्रतिशत सेयर स्वामित्व नेपाल टेलिकमको र ३४ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको छ।
नमस्ते पेमार्फत हुने कारोबारको राफसाफ वाणिज्य बैंकले गर्छ। इन्टरनेट सुविधा भएको समय (अनलाइन)मा मात्र नभई अफलाइनमा समेत भुक्तानी गर्न सकिने विशेषताका कारण पनि यसको प्रयोगमा वृद्धि हुने अपेक्षा गरिएको नेपाल डिजिटल्स पेमेन्ट कम्पनीकी सञ्चालक सरस्वती अधिकारीले बताइन्।
नमस्ते पेमा सेन्चुरी कमर्सियल, ग्लोबल आइएमई, कामना सेवा विकास, लक्ष्मी, मेगा, मुक्तिनाथ, एनआइसी एसिया, नेपाल बैंक, प्रभु र राष्ट्रिय वाणिज्य बैंकको खातासमेत आबद्ध गरिएको छ। त्यस्तै, नमस्ते पेमार्फत भुक्तानी कारोबार गर्न चाहनेको बैंक खाता अनिवार्य छैन।
नमस्ते पे एजेन्ट्सहरूमार्फत पनि यसमा रकम लोड (जम्मा) गर्न सकिनेछ। मोबाइल सिममा नै भएको टक टाइम तथा एयर भ्यालुलाई समेत पैसामा रूपान्तरण गर्न सकिने व्यवस्था गर्ने कम्पनीको सोच भए पनि हाललाई राष्ट्र बैंकले यसमा रोक लगाएको छ। यद्यपि रेमिट्यान्स रकमलाई समेत यसमा जम्मा गर्न सकिनेछ। राष्ट्र बैंकले वालेटमा रहने रकममा ब्याज दिन सकिने व्यवस्था गर्ने बताएको भए पनि पछिल्लो समय यसमा उदासीन देखिएको छ।




















प्रतिक्रिया