काठमाडौं– मंसिर ७ गतेको डेटलाइन यतिबेला नेपाली राजनीतिक वृत्तमा पेचिलो बनेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजतन्त्र र हिन्दु राज्य पुर्नस्थपानाको माग गर्दै काठमाडौंमा मानव जनसागर उतार्ने र नेकपा एमालेनिकट युवा संघको आडमा महेश बस्नेतले छुट्टै कार्यक्रम गर्ने भएपछि सबैको चासोको विषय बनेको हो ।
७ गते दुवै पक्षले माइतीघर मण्डलामा जनसभा गर्ने भनेपछि संभावित मुठभेडको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले माइतीघरदेखि बानेश्वर र तीनकुनेदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिसकेको छ । युवासंघले प्रशासनको निर्णय पालना गर्ने भन्दै तीनकुनेमा कार्यक्रम गर्ने जनाएको छ ।
यसैबीच कुनै राजनीतिक दलबिना प्रसाईंले कसरी कार्यक्रमलाई सफल पार्लान् भन्ने चासोको विषय बन्न पुगेको छ । प्रसाई कुनै समय आफ्नै निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएयता चर्चामा आएका पात्र हुन् । बिर्तामोड निवासी उनले भक्तपुरस्थित घरमा वाम एकता हुनुअघि २०७४ फागुन ६ मा दुवै अध्यक्षलाई मार्सी भातको मेजमानी पस्किएका थिए । पछि दुवैसँगको सम्बन्ध बिग्रिएपछि उनी राजावादी बनेका हुन् ।
अर्बौंको बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालका मालिक प्रसाईंको बैंकमा ऋण पनि अर्बौं नै रहेको बताइन्छ । प्रसाईंले सार्वजनिक रुपमा बैंक तथा वित्तीय संस्थामाथि अनेकन् नकारात्मक टिक्काटिप्पणीसमेत गर्दै आएका छन् । ठूलो परिमाणको उक्त ऋण चुक्ता गर्न गाह्रो भएपछि राजनीतिक आडमा आफूलाई बलियो सावित गर्न खोजिरहेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले पनि प्रसाईंको कार्यक्रमलाई आफूहरूको नैतिक समर्थन रहेको स्पष्ट पारे ।
बैंक तथा वित्तीय संस्थाहरूले सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले त्यसविरुद्ध आफूले आन्दोलनको नै सुरुआत गर्नुपरेको उनले बताउने गरेका छन् । उनले १७ लाख परिवारको घर बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गर्ने सूचना आफूले पाएको दाबीसमेत गरे पनि गर्ने गरेका छन । त्यसको आधिकारिक पुष्टि गर्न सक्ने आधार भने स्वयम् उनीसँग छैन।
यतिबेला तीनै प्रसाईं राजनीतिक रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छन् । संसद्मा प्रतिनिधित्व गर्ने गणतन्त्रवादी प्रमुख राजनीतिक दलहरूबाट पार नलाग्ने भन्दै अब देशमा राजा नै चाहिएको उनले बताउँदै आएका छन् । तर, प्रसाईंको एजेन्डामा भने कुनै नयाँपन छैन । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कै ‘राजसंस्था र हिन्दु राज्य’को एजेन्डालाई आफ्नो एजेन्डा बनाएका छन् ।
मंसिर ७ को आन्दोलनका लागि पनि प्रसाईंले यी नै एजेन्डालाई प्रमुख बनाएका छन् । यद्यपि, ‘वृहत नागरिक मुक्ति आन्दोलन’ नाम दिइएको उनको कार्यक्रमको प्रचार ब्यानरमा भने ‘राजसंस्था र हिन्दु राज्य’बारे स्पष्ट उल्लेख गरिएको छैन । तर, उनले दिँदै आएका कुनै पनि अभिव्यक्तिमा यसलाई छुटाएका छैनन् ।
हजारौं मान्छे काठमाडौंमा उतार्ने घोषणा गरेका प्रसाईंले विभिन्न खाले ब्यानरहरूमार्फ तीव्र प्रचार गरिरहेका छन् । प्रचार ब्यानरमा चरम भ्रष्टाचार, बेथिति, कुशासन, दलाल, कमिशनखोर, घुसखोरहरूबाट अन्याय, अत्याचार, शोषण, दमन र अन्यायमा परेका गरिब निमुखाहरूको मुक्तिका लागि भन्दै मंसिर ७ गते उपस्थित हुन निम्ता बाँडिएको छ । प्रसाईंले सबै प्रदेश र जिल्लाहरूमा प्रतिनिधि तथा सम्पर्क व्यक्ति नै तोकेर आन्दोलनमा काठमाडौं आउन चाहनेहरूलाई सम्पर्क गर्न भनेका छन् ।
यता, प्रसाईंको आन्दोलनले आफ्नै एजेन्डाको पक्षमा जनमत निर्माण गर्ने भएपछि राप्रपाले पनि नैतिक समर्थन जनाउने भएको छ । सुरुदेखि नै संस्थापक नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीले नैतिक समर्थन जनाउनुपर्ने बताउँदै आएका थिए । उनले सोमबार ४ बुँदे वक्तव्य नै जारी गर्दै राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अघि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन वा जनसंघर्षमा राप्रपाका कार्यकर्ताको सहभागिता हुनुपर्ने बताएका छन् ।
लोहनीले भनेका छन्, ‘अतः मंसिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ । यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ ।’
राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले पनि प्रसाईंको कार्यक्रमलाई आफूहरूको नैतिक समर्थन रहेको स्पष्ट पारे । प्रसाईं मात्रै नभई वर्तमान व्यवस्थाविरुद्ध जनमत बढाउँदै लैजाने क्रममा ज–जसले अभियानहरू सञ्चालन गर्छन्, ती सबैप्रति पार्टीको समर्थन रहने उनले बताए ।
‘अहिले दुर्गा प्रसाईं जीले यो व्यवस्था बदल्ने भनेर जुन कुरा उठाउँदै आउनुभएको छ, यसको हामीले स्वागतै गर्छौं । उहाँलाई मात्र होइन, यो व्यवस्थाविरुद्ध जनमत बढाउँदै लैजाने क्रममा ज–जस्ले अभियानहरू संचालन गर्छन्, ती सबैलाई हाम्रो नैतिक समर्थन रहन्छ’, अनलाइनपानासँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘यस पटकको कार्यक्रमका लागि प्रसाईं जीले औपाचारिक रुपमा सहयोग माग्नुभएको छैन । यस्तो अवस्थामा संस्थागत रुपमा सहयोग दिन्छौं भन्ने कुरा त भएन । तर जान चाहने नेता–कार्यकर्तालाई चाहिँ हामीले रोक्दैनौं । फरि जानुस् भनेर भन्ने अवस्था पनि छैन ।’




















प्रतिक्रिया