काठमाडौं- करिब १७ वर्ष अगाडि काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा लोकतान्त्रिक गणतन्त्र पक्षधरहरूको विशाल ठूलो भीड लागेको थियो। वि.स. २०६२/६३ को त्यो दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा राजंस्था ढल्यो भने लोकतन्त्रको स्थापना भएको थियो।
झन्डै १७ वर्ष अगाडिको झल्को दिने भीड बिहीबार काठमाडौंको बल्खुमा पनि देखियो। फरक थियो त केवल एजेन्डा र नारा। २०६२/६३ मा माइतीघरमा लागेका नारा लोकतन्त्र र गणतन्त्रका पक्षमा थिए भने बिहीबार बल्खुमा लगोका नारा ‘लोकतन्त्र/गणतन्त्र मुर्दावाद’का थिए।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा जम्मा भएको उक्त भीडले १७ वर्ष अगाडि नै जनतासामू घुँडा टेकेको राजतन्त्रको पक्षमा नारा लगायो– ‘राजा आउ, देश बचाउ’, राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, …’

झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने आफ्नो स्वार्थ पूर्ति नभएपछि पार्टी फेर्दै हिँडेका प्रसाईं पछिल्लो पटक सबै दलका शीर्ष नेताहरूसँगको सम्बन्धमा तिक्तता आएपछि राजावादी बनेका हुन्। कहिले माओवादी त कहिले एमाले बनेका उनी अहिले राजतन्त्र र हिन्दु राज्य स्थापना गराउने भन्दै ज्यान दिएर लागेका छन्।
राजसंस्थाको पक्षमा वकालत गर्ने प्रसाईं एक्ला होइनन्। पाचौं ठूलो दलका रुपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद्मै छँदैछ। लिङ्देनले बाजी मारेर अध्यक्ष पद खोसेपछि कमल थापाले ब्युँताएका राप्रपा नेपाललगायत झिनामसिना राजवादी संगठन थुप्रै छन्। तर लोकतान्त्रिक गणतन्त्रपछि राजसंस्थाको पक्षमा ठूलो जनसागर उर्लिएको बिहीबार नै हो। जसलाई राप्रपाले नैतिक सर्थन जनाएको थियो। राप्रपाका सांसद ज्ञानेन्द्र शाही स्वयं केही कार्यकर्तासहित प्रसाईंले बटुलेका भीडमा मिसिन पुगेका थिए।
बिहीबार बल्खुको सडकमा उर्लिएको हजारौं राजावादीहरूको भीडले वर्तमान व्यवस्थाप्रति आमजनताको निराशा मात्र झल्काउँदैन, यसबाट राजसंस्था पक्षधरको संख्या बढ्दै गएको पनि स्पष्ट हुन्छ। राजसंस्थाप्रति जनमत यसरी बढ्दै जानुमा ती नै दोषी छन्, जो हिजो लोकतन्त्र र गणतन्त्र ल्याउन ज्यानको बाजी थापेर लडे। व्यवस्था बदल्ने लक्ष्यमा सफल भएका लोकतान्त्रिक गणतन्त्रवादी दलहरू अवस्था बदल्नमा चुक्दा वा भनौं नचाहँदा दुर्गा प्रसाईं प्रवृत्तिको जन्म भएको बुझ्न जो–कोहीलाई असहज छैन।
नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर हिजो जे इच्छा लाग्यो त्यही गरे। आजका सत्तासीन होस् वा प्रतिपक्षी कुनै पनि दल कोहीभन्दा कोही कम छैनन्, फलस्वरुप व्यवस्थाकै विकल्प खोज्नेहरूको ग्राफ उकालो लाग्दै छ। प्रदर्शनस्थलमा भेटिएका सबैजसोमा अहिलेका दल तथा नेताहरूप्रति आक्रोश देखियो।
उनीहरू देश र समग्र जनताका लागिभन्दा दलका नेता र आशेपासेहरूका लागि मात्र भएको प्रतिक्रिया अनलाइनपानालाई दिए। देशमा बेथिति, भ्रष्टाचार र सोझासाझा जनतामाथि अन्याय र अत्याचार बढेको बताए। देशका उद्योग तथा कलकारखाना दल तथा नेताहरूले बेचिखाएको, रोजगारी सृजना हुन नसकेको, आफैले केही गरौं भन्दा त्यो वातावरणसमेत नभएकाले व्यवस्थाकै विकल्प खोज्ने बेला आएको कार्यक्रममा सहभागी युवाहरू बताए।

यसरी व्यवस्थाकै विकल्प खोज्नेहरूको संख्या बढ्दै गएको ज्ञात स्वयं दलहरूलाई पनि छ। यो व्यवस्था नै उल्टिएला कि भन्ने गम्भीर चिन्ता उनीहरू क्रियाकलापमा देखिन्छ भने भाषणमा सुनिन्छ।
प्रधानमन्त्रीले गणतन्त्रवादी दलहरूको बैठक नै डाकेर गणतन्त्रविरोधी गतिविधिहरूबारे के गर्ने र कसरी अगाडि बढ्ने भनेर सोधे। सहपाटी शेरबहादुर देउवाले त साथ नदिने कुरै भएन। प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले पनि ढाडस दिँदै भने, ‘व्यवस्था जोगाउन आवश्यक परे हामी पनि सडकमा होमिन तयार छौं।’
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्रकै कित्तामा उभिएका दलहरूबाट पाएको ढाडस छर्पष्ट्याउँदै बुधबार सार्वजनिक रुपमै भने, ‘यो व्यवस्था ल्याउन हजारौंले रगत
बगाएका छन्, जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’ यस्तै भावका अभिव्यक्ति ओली, देउवा वा उनीहरूपछिको दोस्रो, तेस्रो तहका नेताहरूबाट पनि सुनिन्छ।
अझ ओलीले नेतृत्व गरेका एमालेले त आफ्नो कद नै घटाएर एउटा व्यक्ति र व्यक्तिको आन्दोलनसँग पौँठाजोरी नै खेल्न खोज्यो। युवा संघको नेतृत्व सम्हालेका महेश बस्नेतसँग पछिल्लो समय वाक्युद्ध उत्कर्षमा पुगेको बेला नवराजावादी दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्ने घोषणा गरे। महेश पनि के कम, उही दिन (आज बिहीबार) एउटा निरुद्देश्यीय जनप्रदर्शन राखे। पछि माउ पार्टी एमालेले नै युवा संघको जनप्रदर्शनको स्वामित्व लिने निर्णय गर्यो। जसबाट देशको प्रमुख प्रतिपक्ष नै एक अभियन्तासँग प्रतिस्पर्धा गर्ने तहमा ओर्लेको स्पष्ट हुन्छ।
तर एउटा बलियो जनमत भएको पार्टीको भाृतसंस्था, त्यसमा पनि माउपार्टीले नै स्वामित्व लिएको कार्यक्रममा भन्दा एक अभियान्तारुपी व्यवसायी प्रसाईंको कार्यक्रममा उत्साहजनक उपस्थिति देख्न सकिन्थ्यो। यत्रो भीड एउटा व्यक्तिको पछाडि हिँड्नु भनेको अहिलेको व्यवस्था, दल र राजनीतिकर्मीको असफलताको द्योतक नै हो।
प्रसाईंसँग सरकार पनि बन्यो थर्कमान
एकै दिन दुई समूहले कार्यक्रम गर्ने भएपछि झडप तथा तनावको स्थिति सृजना नहोस् भनेर काठमाडौं प्रशासनले प्रदर्शनस्थतल तोकिदियो। दैनिक जसो विभिन्न आन्दोलेनको रापले तातिरहने माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर प्रसाईं समूहलाई बल्खु र युवा संघलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइयो। उही अनुसार उनीहरूले कार्यक्रम गरे।

सरकारले माइतीघर–बानेश्वर क्षेत्रलाई मात्र निषेधित क्षेत्र घोषणा गरेन। महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास, प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्र र ललितपुरको मन्त्री निवास पुल्चोक क्षेत्रमासमेत निषधज्ञा जारी भयो। व्यवस्था बदल्ने चेतावनी दिएका प्रसाईंसँग थर्कमान बनेको सरकारले कार्यक्रमको पूर्वसंध्यामै उच्च सुरक्षा सतर्कता अपनाएको थियो।
डरपोक सरकार, दुस्साहसी प्रसाईं र एमालेको निरुद्देशीय कार्यक्रमले गणतन्त्र नै हल्लिएको महसुस हुन्छ। अब सत्तामा विराजमान भएका र सत्ता बाहिर रहनुपर्दा छट्पटाइरहेका सबै गणतन्त्रवादी दलहरूका लागि आगामी करिब चार वर्षको अवधि परीक्षणको घडीका रुपमा गन्ती हुने स्पष्ट छ। यो अवधिमा पनि नसुध्रिए अहिलेका प्रमुख भनिएका दलहरूले पनि पूर्वराजा ज्ञानेन्द्रको नियती भोग्ने दिन टाढा हुने छैन।




















प्रतिक्रिया