Logo

राजनीति

व्यवस्था उल्ट्याइदिने प्रसाईंको हाँक, कांग्रेसलाई मुख खोल्न पत्रकारकाे प्रश्नै कुर्नुपर्‍यो



काठमाडौं- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला दोस्रो पटक चर्चामा छन्। ६ वर्षअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा मार्सी चामलको मेजमानी मस्किएर उनी पहिलो पटक चर्चामा थिए। अहिले प्रसाईं तीनै प्रचण्ड, ओली र शेरबहादुर देउवा नेतृत्वको दलले अंगालेको लोकतान्त्रिक गणतन्त्रविरुद्ध आन्दोलन गरेर चर्चामा आएका हुन्।

मंसिर ७ मा काठमाडौंको बल्खुमा करिब ९ हजार मास जम्मा गरेर विद्यमान शासन प्रणाली र व्यवस्था नै उल्टाइदिने हाँक दिएपछि माओवादी र एमालेले आ–आफ्नै तरिकाले प्रतिवाद गरे। एमालेले त भातृ संगठन युवा संघलाई मंसिर ७ मै सडकमा उतारेर प्रसाईंसँग पौँठाजोरी खोल्न खोज्यो। तर एमालेले गरेको प्रदर्शनमाभन्दा मामुली एक व्यवस्थाविरोधी अभियान्ता प्रसाईंले गरेको आन्दोलनमा धेरै भीड देखिए।

राजतन्त्र र हिन्दु राज्यको पक्षमा बढ्दै गएको जनमतसँग सचेत देखिएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले त व्यवस्था उल्टाउन चाहनेको सपना कहिल्यै पूरा नहुने भन्दै प्रतिवादमात्रै गरेनन्, गणतन्त्रवादी दलहरूको बैठक नै डाकेर छलफल पनि गरे।

तर पछिल्लो पटक सडकमा देखिएका व्यवस्थाविरोधी गतिविधिबारे अचम्मको मौनता साँधेको संसद्को ठूलो दल कांग्रेसले भने ढिला गरी मुख खोलेको छ। यसअघि कांग्रेसको यो मौनतालाई लिएर नेपाली राजनीतिमा केही प्रश्न र आशंका उब्जिएका थिए, यसकारण कि कांग्रेसभित्र विगतदेखि नै हिन्दु राज्यको पक्षमा पनि कुरा उठ्दै आएको छ। राजसंस्थालाई सधैँका लागि पाखा लगाउँदै धर्मनिरपेक्षतालाई अंगालेको संविधान जारी भएको तीन वषमै कांग्रेसमा हिन्दु राज्यको पक्षमा हस्ताक्षर नै संकलन भएको थियो। त्यसयता कांग्रेसमा बेलाबखत हिन्दु धर्मको पक्षमा चर्चा हुँदै आएको छ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्रक केसी प्रसाईंको आन्दोलनप्रति कांग्रेसको आफ्नै छुट्टै बुझाइ हुन सक्ने भएकाले पनि लामो समयसम्म पनि मौन बसेको हुन सक्ने बताउँछन्।

२०७५ मंसिर पहिलो साता कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइरालाले नेपाल हिन्दु राष्ट्र हुने कि धर्मनिरपेक्ष भन्नेबारे जनमत संग्रह गर्नु पर्ने अभिव्यक्ति दिएका थिए। त्यसयता बेलाबेला शशांकले हिन्दुराज्यकै पक्षमा अभियव्यक्ति दिँदै आएका छन्। गत असोजमा बसेको केन्द्रीय समिति बैठमासमेत यसबारे चर्चा भएको थियो। केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दू राष्ट्र पक्षमा वकालत र संघीयताको विषयमा प्रश्न उठाएका थिए।

यसरी संघीयता र धर्मनिरपेक्षताविरुद्ध पार्टीमै चर्चा भइरहने कांग्रेस राजसंस्था र हिन्दु राज्यको पक्षमा भइरहको सडक आन्दोलनबारे लामो समय मौन बसेपछि प्रश्न र आशंका उब्जिएको हो। महामन्त्री गगन थापाले पूर्वराजालाई चुनाव लड्न आउन चुनौती दिनबाहेक कांग्रेसले संघीयता र धर्मनिरपेक्षताविरोधी गतिविधिको प्रतिवाद गरेको थिएन। तर त्यो मौनता तोड्न कांग्रेस सभापति देउवालाई पत्रकारले नै प्रश्न तेर्याउन पर्यो। उनले आज (सोमबार) भरतपुर विमानस्थलमा पत्रकारहरूले र्‍याखर्‍याखती पारेपछि मुख खोलेका हुन्।

देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन।’ गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं।’

राजनीतिक विश्लेषक डा. सुरेन्द्रक केसी प्रसाईंको आन्दोलनप्रति कांग्रेसको आफ्नै छुट्टै बुझाइ हुन सक्ने भएकाले पनि लामो समयसम्म पनि मौन बसेको हुन सक्ने बताउँछन्। ‘प्रसाईंको आन्दोलनप्रति कांग्रेसका आफ्नै बुझाइ होला। राजसंस्था र हिन्दु राज्यका लागि भनिएपनि त्यहाँ बैंक र वित्तीय संस्थापीडितहरू पनि थिए रे भनिएको छ’, उनले अनलाइनपनासँग भने, ‘कांग्रेसले यो गणतन्त्र र धर्मनिरपेक्षता विरुद्धको गतिलो आन्दोलन नै होइन भन्ने हिसाबले बोल्न आवश्यक नठानेको पनि हुन सक्छ।’

विश्लेषक डा. केसीले सत्ता साझेदार कांग्रेस मात्र नभई सरकारको नेतृत्व गरेको माओवादी पनि चुप नै बसेको बताए। उनले भने, ‘माओवादी पनि यसमा मौन नै बसेको हो। मलाई के पनि लाग्छ भने प्रसाईंलाई मुंग्रो बनाएर एमालेलाई कुट्नु थियो, कुटे कथा सकियो।’

यता, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पार्टीमा बेलाबखत संघीयता र धर्मनिरपेक्षताविरुद्ध प्रश्न उठेपनि कांग्रेस लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र धर्मनिरपेक्षाको सवालमा प्रतिवद्ध रहेको बताउँछन्। कांग्रेस अन्य पार्टीहरूभन्दा फरक रहेकाले राजावादीका नाममा हुँदै आएका विभिन्न क्रियाकलापका सन्दर्भमा धारणा सर्वाजनिक गर्न र प्रतिवाद गर्न आश्यक नठानेको उनले प्रष्ट्याए।

‘अन्य पार्टी र कांग्रेसबीच वैचारिक दृष्टिकोणबाट मात्र नभई कार्यशैलीमा पनि ठूलो अन्तर छ। हामी संघीय समावेशी लोकतान्त्रिक गणतत्रात्मक संविधान जारी गर्ने पार्टी हो। हामी एउटा विचारमा आस्था, विश्वास र प्रतिवद्धता प्रकट गरिसकेपछि त्यसमा स्थायी रुपमा प्रतिवद्ध रहन्छौं’, अनलाइनपानासँग नेता विश्वकर्माले भने, ‘त्यसैले हामीले विचारका बारेमा राजाले के भन्छन्, अरु कसले के भन्छन् भनेर र फेरि हामीले के भन्छौं भनेर दैनिक, साप्ताहिक र मासिक जवाफ दिन उचित ठान्दैनौं।’

आफूहरू सरकारमा रहेकाले संवैधानिक अधिकारको सुनिश्चितता गर्दै असंवैधानिक गतिविधिलाई नियन्त्रण गरेको बताए। ‘हामी सरकारमा छौं। त्यसो भएको हुनाले हामीले आन्दोलन, जुलुस, धर्ना गर्नका लागि शान्तिपूर्ण ठाउँ तोकिदियौं’, उनले भने, ‘असंवैधानिक र गैरकानूनी गतिवधि गर्नेलाई कानूनी दायरमा ल्याउनु पनि हाम्रो दायित्व हो। जब शान्तिलाई हिंसाको रुपमा दिन खोजियो, त्यत्तिखेर नियन्त्रण गर्यौं।’

नेता विश्वकर्माले दुर्गा प्रसाईं आन्दोलन राजा ल्याउने भन्दा पनि निजी स्वार्थ पूर्तिका निम्ति भएको बताए।

आफूहरूले एउटा जिम्मेवार प्रतिपक्ष भएर मामुली एउटा व्यवसायीसँग पौँठेजोरा नखेल्न आग्रहसमेत गरेको नेता विश्वकर्माले खुलाए। उनले भने, ‘एमालेले चाहिँ फेरि त्यस्तै अराजक समूहसँग प्रतिस्पर्धा नगर्या भए हुन्थ्यो भन्ने हामीले अनुरोध पनि गरेका थियौं। तर उहाँहरूले कार्यक्रम रोक्न सकिन्न। तर शान्तिपूर्ण हुन्छ भन्नुभो। त्यस्तै भयो पनि।’

नेता विश्वकर्माले दुर्गा प्रसाईं आन्दोलन राजा ल्याउने भन्दा पनि निजी स्वार्थ पूर्तिका निम्ति भएको बताए। उनले भने, ‘दुर्गा प्रसाईंले आफ्नो आर्थिक विषयलाई राजाको भूत देखाएर सरकारलाई धम्क्याउन खोज्या मात्र हुन्।’ उनले लोकतान्त्रिक पद्धति संसारकै सर्वस्वीकार्य भएको बताए।

दल र नेताहरूकै कारण जनआक्रोश बढ्दो

दल र जिम्मेवार नेताहरूकै कारण पछिल्लो पटक जनआक्रोश बढ्दै गएको नेता विश्वकर्मा बताउँछन्। राजनीतिक परिवर्तनका निम्ति एक ढिक्का भएका दलहरू त्यसपछि तुच्छ टिक्काटिप्पणी र आरोपप्रत्यारोपमा उत्रिँदा जनतामा सबै दल उस्तै हुन् भन्ने परेको उनको ठहर छ।

‘राजनीतिक परिवर्तनका लागि वामपन्थी, समाजवादी, लोकतन्त्रवादी सबैखाले शक्ति एक ठाउँमा बस्यौं। तर राजनीतिक दल र दलका जिम्मेवार नेताहरूले पुर्‍याउन नसकेको होस चाहिँ के हो भने जब परिवर्तन भइसक्यो हामी एक अर्कामा अत्यन्तै तिक्तताका साथ प्रतिस्पर्धामा उत्रिन्छौं। एक अर्कामाथि जाइलाग्छौं। हामी एकले अर्कालाई भए/नभएका सबै किसमका आरोपप्रत्यारोपहरू गछौं’, नेता विश्वकर्मा भन्छन्, ‘सबैले अर्कालाई बदनाम गर्नका लागि गरिने तथानाम गालिगलौजका कारणले जनतामा को ठिक त त्यसो भए ? भन्ने पर्यो। जनतालाई त कोही पनि ठिक लागेन। अब जनतामा के भयो भने सबै उस्तै पो रहेछन् त परेको छ।’

अब दलहरूले यसलाई बुझेर सच्चिन आवश्यक रहेको नेता विश्वकर्माले बताए। ‘नागरिकमा दल र नेताहरूकै कारणले यो खालको अविश्वास र वितृष्णा फैलिएको छ। यसलाई बुझेर दलहरूले आफूलाई सच्याउन जरुरी छ।’

यथार्थमा कोही पनि जनता राजासंस्थाको पक्षमा नरहेको तर दल र नेताहरूकै कारण आजित भएर ‘यो भन्दा त बरु त्यही ठिक थियो’ भन्ने जनताको क्षणिक प्रतिक्रिया मात्र भएको उनले बताए।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार ०८:४१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।