काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ।
कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ। यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ। जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ।
१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ। उनले शुक्रबार सो सत्रलाई सम्बोधन गर्ने छन्।
उनी संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा सहभागी हुनेछन्।
त्यस्तै शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दी माउन्टेन : हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने छन्। सो सत्रमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्र रूपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्नुहुने र हिमालका एजेन्डालाई कोप–२८ मा महत्वका साथ हेर्नका लागि अपिल गर्नुहुने मन्त्रालयले औंल्याएको छ।
सम्मेलनको साइडलाइन बैठकका रूपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ।
त्यस्तै युएईमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तर्क्रिया गर्ने कार्यसूची रहेको छ। त्यहाँ आयोजना हुने नेपाल–युएई व्यापार सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्चाधिकारी सहभागी हुनेछन्। नेपाली टोली शनिबार स्वदेश फर्किने छ।




















प्रतिक्रिया