काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको मुख्य राजनीतिक मार्ग तय गरेको छ । मंगलबारदेखि महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट ‘बहुलवादी लोकतान्त्र’लाई पार्टीकाे औपचारिक मार्गका रुपमा अपनाइएकाे हाे ।
बैठकमा पार्टीका महामन्त्री डा. मुकुल ढकालले पेस गरेकाे पार्टीको मूल दस्तावेजको प्रस्तावना पारित गरेको हाे । उक्त प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको उल्लेख छ ।
संयुक्त बैठकबाट बुधवार पारित दस्ताबेजमा पार्टी ‘बहुलवादी लोकतान्त्रिक हुने उल्लेख छ । ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,’ रास्वपाको दस्ताबेजमा भनिएको छ,’ यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जबाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।’
लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालनको नीति लिने रास्वपाको दस्ताबेजमा उल्लेख छ ।
सबै सांसद बने केन्द्रीय सदस्य
बैठकले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेकाे छ । सभापति लामिछानेले सांसद रहेका तर केन्द्रीय सदस्य नभएकालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव बुधबारको बैठकमा पेश गरेका थिए । सभापतिको प्रस्तावलाई बैठक पारित गरेकाे हाे । यस्तै रास्वपाले सात प्रदेशका सभापतिलाई पदेन केन्द्रीय सदस्य बनाएकाे छ ।
यसअघि रास्वपाका २१ (उपसभामुखसहित) मध्ये ६ जना सांसद मात्र केन्द्रीय समितिमा थिए । बुधबार भएको निर्णयपछि १४ जना सांसद स्वतः केन्द्रीय सदस्य बनेका छन् ।
सांसदबाट थपिएका केन्द्रीय सदस्यहरुमा डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की, असिम शाह हुन् ।
यसअघि नै केन्द्रीय सदस्य रहेका सांसदहरुमा सभापति लामिछाने सहित डीपी अर्याल, गणेश पराजुली, सोविता गौतम, सुमना श्रेष्ठ र विन्दवासिनी कंसाकार छन् ।
पार्टी गठनको बेला २४ सदस्यीय रहेको केन्द्रीय समितिलाई २०७९ फागुन १ गतेमा १६ जना थपेर ४० पुर्याइएको थियो । त्यस समय निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री थिए ।
बुधबार केन्द्रीय सदस्य बढाउन अघि कायम केन्द्रीय सदस्यको संख्या ३८ थियो । विधान अनुसार रास्वपाको केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ ।




















प्रतिक्रिया