काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली टि-२० कपको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । आर्मीले उपाधिको लागि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफबीचको विजेतासँग खेल्नेछ ।
टस जितेर पहिला ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १२७ रन बनायो । बागमतीका लागि गौरव खड्काले अर्धशतक बनाए । उनले ३५ बलमा तीन चौका र चार छक्काको मद्दतले ५० रन जोडे । त्यस्तै कप्तान सन्दीप लामिछानेले १९, ऋत गौतमले १४ र इशान पाण्डेले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
आर्मीका लागि शाहव आलमले चार, सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए ।
बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । आर्मीका लागि भिम सार्कीले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै कुशल मल्ले २७ तथा विनोद भण्डारीले २५ रन जोडे । सोमपाल कामी १५ रनमा अविजित रहे ।
बागमतीका लागि सन्दीप लामिछानेले दुई तथा प्रतिश जिसी, इशान पाण्डे, सोनु देवकोटा र ऋत गौतमले एक एक विकेट लिए ।




















प्रतिक्रिया