काठमाडौं- दोस्रो संविधानसभाबाट २०७२ भदौ ३० गते नयाँ संविधान पारित हुँदैगर्दा र असोज ३ गते जारी हुँदै गर्दा खुशीयालीमा ताली ठोक्ने सबैभन्दा धेरै सदस्य थिए– देशकै पुरानो पार्टी नेपाली कांग्रेसका।
६०१ तत्कालीन संविधासभा सदस्यमध्ये कांग्रेसका मात्रै २०७ जना थिए। सभाबाट पारित भएर जारी हुँदै गरेको संविधानको धारा ४ मा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नेमध्ये कांग्रेसका तिनै २०७ सदस्य पनि थिए। उनीहरूले संविधान पारित गर्न दुई तिहाई मत पुर्याउनका लागिमात्र नभई संविधानका ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूचीहरूमा बकाइदा बहससमेत गरेका छन्।
नेपालकै इतिहासमा जनप्रतिनिधिमार्फत जनतामाझ गएर मस्यौदा तयार पारिएको यो संविधान जारी हुँदा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति थिए, डा. रामवरण यादव। उनी कांग्रेसबाटै निर्वाचित भएका थिए। कांग्रेसकै नेता कृष्णप्रसाद सिटौला संविधान मस्यौदा समितिका संयोजक थिए। उनले पनि वर्तमान संविधान निर्माण तथा जारी गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
आफ्नै उल्लेख्य सहभागितामा निर्माण तथा जारी भएको यही संविधानले अवम्बन गरेको ‘धर्म निरपेक्षता’को विरुद्धमा अहिले कांग्रेसमा बहस चर्किएको छ। कतिपय तल्ला तहका नेताले त हिन्दु राष्ट्रको पक्षमा धर्म निरपेक्षताविरुद्ध वकालत गर्दै आएकै थिए। कांग्रेस नेता शशांक कोइरालाले बेला-बेला हिन्दु धर्मको पक्षमा अभिव्यक्ति दिँदै आएका पनि थिए। यतिबेला भने त्यो क्रम बढ्दो छ।
सोमबार जिल्ला सम्मेलनमा सहभागी हुन पूर्वी नवलपरासी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले धर्म निरपेक्षताविरुद्ध मुख नै खोलेका छन्। ‘धर्म निरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिन्छ। तर, गणतन्त्रको विकल्प छैन,’ रातन्त्रवादी सलवलाइरहेको समयमा उनले भने।
लोकतान्त्रिक गणतन्त्रको पक्षमा अडिग देखिएका देउवाले हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिएपछि पार्टीकै कतिपय नेताले विमति जनाएका छन्।
देउवाले यसबारे केहीदिन अघि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेको बताइएको छ।
लोकतान्त्रिक गणतन्त्रको पक्षमा अडिग देखिएका देउवाले हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिएपछि पार्टीकै कतिपय नेताले विमति जनाएका छन्। पार्टीकै सहमहामन्त्री भीष्मराज आङदेम्बे देउवाको भनाइ नितान्त व्यक्तिगत रहेको भन्दै यो पार्टीको धारणा हुनै नसक्ने बताए।
‘व्यक्तिगत रूपमा कसले के भनिरहेको छ, त्यो बोल्न पाउने आ–आफ्नो अधिकारको कुरा भयो। तर, पार्टीको लाइन भनेको धर्म निरपेक्षता नै हो’, अनलाइना पानासँग उनले भने।
संविधानमा भएको व्यवस्थाबाट पार्टी दायाँबायाँ नहुने स्पष्ट पार्दै सहमहामन्त्री आङदेम्बेले सभापति देउवाको अभिव्यक्ति भूगोलको आधारमा निर्भर रहेको हुन सक्ने बताए। ‘सार्वजनिक कार्यक्रमतिर बोलिएको कुरा भूगोल अनुसार पनि हुन्छ। उहाँ जुन भूगोलमा पुग्नुभएको थियो त्यहाँ कुरा उठेको कारणले पनि छोटो टिप्पणी गर्नुभएको होला। तर, त्यो सभापतिको व्यक्तिगत धारणा हो, पार्टीको होइन।’
त्यसो त कांग्रेसमा धर्म निरपेक्षताविरुद्ध आवाज उठ्नु नौलो कुरा भने होइन। नयाँ संविधान जारी भएको तीन वर्ष नबित्दै कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर नै संकलन भएको थियो। २०७५ मंसिर पहिलो साता कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइरालाले नेपाल हिन्दु राष्ट्र हुने कि धर्मनिरपेक्ष भन्नेबारे जनमत संग्रह गर्नु पर्ने अभिव्यक्ति दिएका थिए। त्यसयता बेलाबेला शशांकले हिन्दुराष्ट्रकै पक्षमा अभियव्यक्ति दिँदै आएका हुन्।
पहिला खुम्बहादुर खड्काले पनि हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका थिए। उनको निधनपछि यो मुद्दा पक्षमा सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारी उभिँदै आएका छन्। गत असोजमा बसेको केन्द्रीय समिति बैठकमासमेत भण्डारीले हिन्दु राष्ट्रको पक्षमा चर्चा गरेका थिए। संविधान निर्माणताका हिन्दु राष्ट्रकै कित्तामा उभिएका शेखर कोइराला भने अहिले हिन्दु राष्ट्रको वकालत गर्ने पक्षमा छैनन्।
सभापति देउवाले अहिले आएर हिन्दु राष्ट्रको कुरा उठाउनुको पछाडि बाह्य शक्तिले पनि काम गरेका हुन सक्ने विश्लेषकहरू बताउँछन्। संविधान निर्माणदेखि जारी गर्ने बेलासम्म पनि नेपाललाई हिन्दु राज्य कायम गर्न भारतले नेपालका नेताहरूलाई तारन्तार दबाब दिएको थियो। भारतको उक्त प्रयास भित्रि रूपमा अहिले पनि जारी रहेको राजनीतिक विश्लेषक डा. लोकराज बराल बताउँछन्।
‘अहिले भारतीय जनता पार्टीको एजेन्डा पनि नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु हो। जसको लागि भित्रभित्र दबाब छ बाहिर नखुले पनि’, उनले भने, ‘उसैलाई खुसी पार्न पनि देउवाले त्यसो भनेको हुन सक्छन्। यो अरु केही होइन अवसरवादीता हो।’
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि अहिले धर्म निरपेक्षताको कित्ताबाट दायाँबायाँ गर्ने पक्षमा छैन।
देउवा सिद्धान्तहीन भएर कांग्रेस नै अलमलमा पर्दा जसले जे पनि बोल्ने गरेको विश्लेषक डा. बरालको टिप्पणी छ। उनले साँचो अर्थमा देउवालाई लोकतन्त्र/गणतन्त्र र धर्म निरपेक्षताको अर्थै थाहा नभएको बताए। ‘देउवको कुनै सिद्धान्तै छैन। शक्तिका लागि जे पनि गर्ने मान्छे मात्र हुन्। दृढपना छैन। आफूमा आत्मविश्वास छैन। म यो कुरामा चाहिँ सम्झौता गर्दिन भन्ने तागत छैन। अनि जे–जुन कुरामा प्रभाव पर्छ त्यसैमा लाग्ने हो’, उनले भने, ‘नत्र एउटा शक्तिशाली र लोकतान्त्रिक पार्टीको नेताले के हो धर्म निरपेक्ष? के हो गणतन्त्र? के हो लोकतन्त्र भन्ने कुरा बुझ्नुपर्छ नि त।’
एमाले, माओवादी के भन्छन्?
धर्म निरपेक्षताको सवालमा कांग्रेसले ढुलमुले पारा देखाइरहँदा एमाले र माओवादी भने अडिग नै देखिन्छन्। व्यापक छलफल र बहसपछि संविधानमै धर्म निरपेक्ष राष्ट्र राखिएकोले अहिले नै यसबारे बहस आवश्यक नरहेको एमाले सचिव पद्मा आर्याल बताउँछिन्।
‘धर्म निरपेक्षताबारे पहिल्यै व्यापक छलफल र बहस भएरै यो राखिएको हो। त्यसैले हामी धर्म निरपेक्षताबाट अहिले पछि हट्नुपर्छ भन्ने लागेको छैन’, उनले भनिन्, ‘किन भन्दा, धर्म भनेको एउटा विश्वास हो। यो सिद्धान्त होइन। त्यसैले जनताले आफूले मन लागेको धर्म मान्न पाउनुपर्छ। यदि धर्म सिद्धान्त हुन्थ्यो भने यो सिद्धान्त त छोड्नु हुन्न भनेर कुनै एउटा धर्मलाई च्याप्नुहुन्थ्यो। तर, विश्वास हो। जनताका विभिन्न खालका आफ्ना विश्वास र आस्थाहरू छन्। त्यसकारण कुनै एउटा धर्मलाई च्याप्ने र अरुलाई पाखा लगाउने गर्नु हुँदैन।’
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि अहिले धर्म निरपेक्षताको कित्ताबाट दायाँबायाँ गर्ने पक्षमा छैन। सबै धर्मलाई सम्मान हुने भएकाले आफूहरू संविधानमा लेखिएको धर्म निरपेक्षबाट दायाँबायाँ नहुने माओवादी उपमहासचिव मात्रिका यादव बताउँछन्।
‘धर्म निरपेक्षताको विषयमा हामी कुनै पनि हालतमा दायाँबायाँ हुने कुरै छैन’, अनलाइन पानासँग उनले भने, ‘हामी धर्मविरोधी होइनौं। सबै धर्मलाई सम्मान गर्छौं। सबैले आफ्नो आस्था राख्न पाइन्छ।’
कांग्रेस सभापति देउवाले हिन्दु राष्ट्रको पक्षमा दिएका अभिव्यक्तिप्रति आश्चर्य मान्दै उपमहासचिव यादवले कतैबाट दबाब परेको हुन सक्ने औंल्याए। ‘कांग्रेस सभापति यसरी नबोल्नुपर्ने हो। कतैबाट प्रेसर पनि हुन सक्छ। पार्टीबाट, अरु कतैबाट’, उनले भने, ‘अब उहाँहरूसँग हामीले छलफल र बहस गर्छौं।’




















प्रतिक्रिया