काठमाडौं- देशको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण साढे पाँच महिनायता कारावास जीवन कटाइरहेका छन्। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाएर करोडौं कुम्ल्याएको आरोपमा गत १ असारदेखि कांग्रेस नेता खाणसहितका ‘भीआईपी’हरू सुन्धारास्थिति केन्द्रीय कारागारमा छन्।
यो प्रकरणमा खाणसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री आङतावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका ‘भीआईपी’हरू पूर्पक्षका लागि थुनामा छन्। अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनु भनेको त्यतिखेरको उपलब्ध तथ्य र प्रमाणका आधारमा दोषी ठहरिनु नै हो।
तर, यतिखेर कारावासमै रहेका आफ्ना नेतालाई ‘सुनपानी छर्कने’ एकपछि अर्को प्रयास नेपाली कांग्रेसबाट भइरहेको देखिन्छ।
मंसिर १२ गते सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र खाणको गृह जिल्ला रूपन्देही पुगेर न्यायलयलाई नै चुनौती दिँदै खाणकै पक्षमा अभिव्यक्ति दिए। भैरहवामा आयोजित कार्यक्रममा उनले भने, ‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईंहरूले चुनेर पठाएको प्रतिनिधि पनि हो। त्यसकारण तपाईंहरूलाई चिन्ता लाग्नु स्वाभाविक हो। मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ।’
शक्ति पृथकीकरणको सिद्धान्तविपरीत अभिव्यक्ति दिएर न्यायलयमाथि दबाब बढाएको भन्दै देउवाको आलोचना भइरहेका बेला कांग्रेस लुम्बिनीले शनिबार खाणलाई ‘अभिभावक’ मान्दै सम्मान गर्याे थुनामा जाँदासमेत कुनै कारबाही नगरेको कांग्रेसले कारावासमा रहेका खाणलाई उल्टै सम्मान गरेको हो।
‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक र राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गने दाजु आज हाम्रा सामू हुनुहुन्न बालकृष्ण खाणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणज्यूलाई हार्दिक अनुरोध गर्दछु,’ शनिबार लुम्बिनी प्रदेश सम्मेलन कार्यक्रमका सञ्चालक कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनालले भने।
लिखित रुपमा मात्र हाेइन, सार्वजनिक कार्यक्रममा पनि महामन्त्री थापाले निर्दोष सावित नभइन्जेलका लागि खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने आफ्नो मागबारे दोहोर्याइरहे । तर, सभापति देउवा ‘कानमा तेल हालेर’ बसिरहे।
त्यसपछि सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गए। कांग्रेस सभापति देउवाले नै खाणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले खादा ओढाए। मञ्चमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए। यद्यपि, खाणलाई सम्मान गर्दा उनीहरू भने उठेनन्।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेलगत्तैदेखि खाणलाई कारबाही गर्नुपर्ने पक्षमा महामन्त्रीद्वय शर्मा र थापा थिए। अन्य केही पदाधिकारी र केही केन्द्रीय सदस्यहरू र नेपाल विद्यार्थी संघले पनि पार्टीबाट खाणलाई निलम्बन गर्नुपर्ने माग राख्दै आएकाे थियाे । तर, देउवाले टेर पुच्छर लाएनन्।
गत साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकको अन्तिममा महामन्त्री थापाले खाणलाई कारबाहीको मागसहित १३ बुँदामा फरक मत राखे। ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं। जसरी संसद्बाट निलम्बन हुन्छ त्यसरी नै पार्टीबाट पनि हुन्छ। यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो’, थापाको लिखित फरक मतमा भनिएको थियो, ‘गम्भीर आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो, पार्टीको विषय बन्नु हुँदैन। पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन।’
लिखित रुपमा मात्र हाेइन, त्यसअघि र पछिका सार्वजनिक कार्यक्रममा पनि महामन्त्री थापाले निर्दोष सावित नभइन्जेलका लागि खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने आफ्नो मागबारे दोहोर्याइरहे । तर, सभापति देउवा ‘कानमा तेल हालेर’ बसिरहे।
अहिले मुद्दा अदालतमा विचाराधीन र अभियुक्त पूर्पक्षका लागि थुनामा रहेको अवस्थामा कांग्रेसले सार्वजनिक रुपमा खुलेरै खाणको पक्षमा वकालत गर्दै आएको छ, जुन शक्ति पृथकीकरणको सिद्धान्तविपरीत मानिन्छ।
कानूनविद् एवं वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले खाणका सन्दर्भमा बिलकुल गलत गरिरहेको बताउँछन्। ‘यसरी मुद्दा विचाराधीन रहेकै अवस्थामा सार्वजनिक अभिव्यक्ति दिनु र पुर्पक्षका लागि थुनामा रहेकालाई सम्मान गर्दा यसले अदालतलाई असर गर्छ’, अनलाइन पानासँग उनले भने, ‘यो बिलकुल गलत हो। उहाँहरूले अदालतलाई कठपुतली बनाउनुभयो।’
तर, कांग्रेस स्वयंले भने खाणको रिहाइको प्रयत्न गर्नु आफ्नो दायित्व ठान्छ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘उहाँकै क्षेत्रमा गएर कार्यक्रम गरिरहँदा उहाँको नाम लिएर न्याय पाउनुहुन्छ भनेको त वकिलहरूले बहस गरिहेका छन् भनिएको हो नि। बिरामी अस्पतालमा छन् भने डाक्टरहरूले उपचार गरिहेका छन्, स्वास्थ्यलाभ चाँडै हुन्छ भन्नु जस्तै हो। यो सभापतिको अभिभावकीय अभिव्यक्ति हो। यसलाई सामान्य रुपमा लिनुपर्छ।’
उपलब्ध कागजात, तथ्य–प्रमाण सबै हेरेर, बुझेर अदालतले फैसला गर्ने भएकाले आफूहरूको क्रियाकलापले न्यायीक प्रक्रियामा कुनै असर नपर्ने नेता विश्वकर्माको जिकिर छ।
लुम्बिनी प्रदेश समितिले गरेको सम्मानलाई पनि सामान्य लिनुपर्ने नेता विश्वकर्माको तर्क छ। अनलाइन पानासँग उनले भने– ‘उहाँलाई सम्मान गर्ने भनेको चाहिँ के भने उहाँको व्यक्तित्व, उहाँको योगदान, पार्टीका लागि उहाँले गरेका कर्महरूलाई हेरेर हो। त्यो भनेको पनि मान्छे बिरामी परेर अस्पतालमा हुँदा होस् वा घरमा हुँदा सम्मान हुन सक्छ नि, त्यस्तै हो। मृत्युपर्यन्त त सम्मान हुन्छ भने उहाँ त अहिले पूर्पक्षका लागि न हुनुहुन्छ। त्यसकारण यसलाई अन्यथा मान्न मिल्दैन।’
उपलब्ध कागजात, तथ्य–प्रमाण सबै हेरेर, बुझेर अदालतले फैसला गर्ने भएकाले आफूहरूको क्रियाकलापले न्यायीक प्रक्रियामा कुनै असर नपर्ने नेता विश्वकर्माको जिकिर छ। खाणका सन्दर्भमा पार्टीको क्रियाकलाप र सभापति देउवाको अभिव्यक्तिलाई थप बल पुग्नेगरी नेता विश्वकर्माले भने, ‘प्रहरीको एउटा संयन्त्रले दोषी देख्यो र मुद्दा दायर गर्यो। तर पार्टीमा अझै पनि उहाँलाई दोषी देखेका छैनौं। परिवारको एउटा सदस्यलाई अभियोग लागेपछि हामीले उहाँको पक्षमा वकालत त गरिहाल्छौं नि।’
कांग्रेस नेता खाणसँगै जेल चलान भएका केहीलाई भने शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाडेको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीप ३० लाख, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल १५ लाख, उनै खाण मन्त्री हुँदा स्वकीय सचिव रहेका नरेन्द्र केसी १० लाखमा रुपैयाँ धरौटीमा छुट्ने भएका छन्।
तर खाणका सन्दर्भमा भने न्यायाधीशहरूको राय बाझियो। खाणलाई छाड्ने उच्च अदालतका न्यायाधीश जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि खाणलाई रिहा गर्नेबारे अर्को इजलासमा सुनुवाइ हुने भएको छ। पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरे पनि खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएका थिए।
यसबारे अब उच्च अदालतका एकजना न्यायाधीशले दिने रायपछि फैसला आउने छ। जसबाट खाणलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने निर्क्यौल गर्नेछ।




















प्रतिक्रिया