काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनु परेको बताएको छ ।
टिकटक प्रतिबन्धविरुद्ध परेका रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले सरकारसँग मागेको जवाफमा मन्त्रालयले अहिलेकै अवस्था प्रतिबन्ध फुकुवा गर्न नसकिने जनाएको हो ।
‘अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइन विरुद्धका सामग्री हटाउने गरेको भए पनि टिकटकले रियल टाइमका सामग्री हटाउन नसक्नुको अलवा लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको तत्कालीन अवस्थामा नियमन सम्भव नभएको स्थिति हो’, मन्त्रालयको जवाफमा भनिएको छ ।
टिकटकले प्रयोगकर्ताको रुचि अनुसारका भिडियोहरु आउने गरी एल्गोरिदम सेट गरेको हुनाले घण्टौंसम्म चलाउने लत बस्ने र त्यसले मानव स्वास्थ्यमा प्रतिकुर असर पर्ने मन्त्रालयको दाबी छ ।
मन्त्रालयले लिखित जवाफमा भनेको छ, ‘टिकटकको अत्यधिक प्रयोगले अनिन्द्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुको साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डोर्याउदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको स्थिति छ ।’
टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश दिएको थियो । टिकटक प्रतिबन्धविरुद्ध सार्वोच्चमा १४ वटा रिट परेको छ ।





















प्रतिक्रिया