Logo

प्रमुख समाचार

बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्छ : ओली



गोरखा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत आज गोरखा आइपुगेका अध्यक्ष ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए ।

“बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौँ । सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्छ”, उनले भने । आयोजना निर्माणका लागि आफूहरुले सरकारलाई घचघच्याउने काम गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो । “नेपालका परियोजना निर्माण गर्दा फाइदा हुनेगरी बनाउन दिनुपर्छ”, उनले भने ।

आयोजना निर्माणमा ढिला भयो भन्दैमा सरकारले अधिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने अध्यक्ष ओलीले बताए । “विभिन्न बाहानामा समस्या सिर्जना गर्न हुँदैन”, उनले भने, “जलाशययुक्त आयोजना तयार भएर डुबान नुहँदासम्म खेती लगाएर खाए हुन्छ । त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोड्नुपर्ने आवश्यकता छैन ।”

अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे । फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वस्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १३:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।