काठमाडौं- जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
उनले शनिबार साँझ बालुवाटार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
भेटमा अदालतबाट जारी पक्राउ पुर्जी, यसअघिको सरकारसँग भएका सहमतिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।
विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामालगायत नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो।
विप्लव नेतृत्वको नेकपाका नेतालाई अहिले लगाएको मुद्दा होइन। अदालतमा पुरानो मुद्दा विचाराधीन अवस्थामा रहेकोमा सरकारसँग तीनबुँदे सहमति भएपछि पक्राउ पुर्जी जारी गर्न नहुने प्रकाण्डको भनाइ थियो।
प्रधानमन्त्रीले समेत विप्लव नेतृत्वको नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नुहुँदैन भन्नेमा आफू दृढ रहेको बताएका थिए।
विश्वकर्माले सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको गुनासो गरे। उनले जनताको चाहनाविपरीत पक्राउ पुर्जी जारी गरेर जनविरोधी कदम चाल्न खोजिएको आरोप लगाए।
‘नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समसामयिक विषयमा भेटवार्ता,’ प्रकाण्डले सामाजिक सञ्जालमा लेखेका छन्।
अदालतले प्रकाण्डसहित पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, हेमन्तप्रकाश वली, माइला लामालगायत थुप्रै नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो। त्यसको दुई वर्षपछि ओली नेतृत्वको सरकारले २०७७ साल माघ २१ गते तीनबुँदे सहमति गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्याएको थियो।
२०७६ असोज ९ गते दायर भएको मुद्दामा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।




















प्रतिक्रिया