Logo

राजनीति

रोकिएन धनकुटावासीको एमालेप्रतिको आक्रोस, ओलीमाथि मुक्का प्रहार [भिडियोसहित]



धनकुटा- मध्य पहाडी राजमार्ग संकल्प यात्रामा रहेको एमाले आज धनकुटा पुग्यो। भोजपुर हुँदै एमाले धनकुटा पुगेको हो।

धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा एमालेको संकल्प सभा थियो। सभामा सरिक हुन ओली गइरहेका थिए।

एमाले कार्यकर्ताहरूले पुस्पगुच्छाका साथ ओलीको स्वागत गरिरहेका थिए। कार्यकर्ताले स्वागत गरिरहँदा ओलीमाथि मुक्का बजारियो।

उनीमाथि स्थानीय महेश राईले मुक्का प्रहार गरेका थिए।

ओलीको स्वागतमा लाइनमा बसेकाहरूकोबीचबाट अघि बढेर राईले ओली नजिक्कै पुगेपछि मुक्का प्रहार गरेको भिडियोमा देख्न सकिन्छ।

एक मुक्का प्रहार गरिसकेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरूले रोकेका थिए।

कोशी प्रदेशमा पहिचानवादी संघ एमालेप्रति रुष्ट बनेको छ। राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा नरहे पनि एमालेप्रति आक्रोस पोखिएको बताइएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ।

प्रदेशसभाको बहुमतले कोशी नाम पारित गरे पनि पहिचानवादीहरू सन्तुष्ट छैनन्। कोशीमा एमालेको बहुमत रहेको र आफूहरूको भावना विपरित नाम राखिएको भन्दै असन्तुष्ट रहेका उनीहरूले एमाले सचिव योगश भट्टराईलाई प्रदेशमा प्रवेश निषेधको घोषणा नै गरेका थिए।

कोशी नामाकरणमा चित्त नबुझाएका पहिचानवादीहरूले पहिचानको आधारमा नामाकरण गरिनु पर्ने माग राख्दै आएका छन्।

सांसदसमेत रहेका भट्टराईले संसदमै नामाकरणको विषयमा दुई तिहाई बहुमतले पारित गरे स्वीकार्ने तर एमाले नेताहरूमाथि आक्रमण भए प्रतिरोध गर्ने चेतावनी दिए। उक्त अभिव्यक्तिपछि पहिचानवादीहरू भट्टराईप्रति रुष्ट बनेका थिए। यहिबीच ओलीमाथि मुक्का प्रहार भएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १९:४६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।