Logo

प्रमुख समाचार

बालकृष्ण खाणलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पेस गरिने



काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई ३० लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो।

उच्च अदालतको आदेशानुसार ३० लाख धरौटी बुझाए खाण रिहा हुने भए पनि प्रहरीले भने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत देश पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गर्दै भ्रष्टाचार गरेको र अवैध रुपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्दै प्रहरीले उनलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको हो ।

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले यसअघि नै खाणलाई उपस्थित गराउन भन्दै कारागार कार्यालयलाई पत्राचार गरेका थिए । नेपाल सरकारको गृहमन्त्रीका रुपमा कार्यरत रहेका बेला रकम (घुस) लिएको अभियोगमा अख्तियारले खाणविरुद्ध अनुसन्धान गरिरहेको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण विभागले पनि उनीविरुद्ध अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १२:५६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।