Logo

प्रमुख समाचार

सम्पत्ति शुद्धीकरण र अख्तियारबाट पनि छुटे खाँण



काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँण जिल्ला अदालत, काठमाडौं, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छुटेका छन् ।

अदालतमा खाँणले धरौटी वापतको ३० लाख रुपैयाँ रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरे भने सम्पत्ति शुद्धीकरण विभागमा खाँणले १५ लाख रुपैयाँको बैंक ग्यारेण्टी धरौटीको रूपमा बुझाएका छन्। अख्तियारले भने उनलाई साधारण तारेखमा छाडिदिएकाे छ।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि खाँण शुक्रबार धरौटी रकम जम्मा गर्न जिल्ला अदालत, काठमाडौं पुगेका थिए । लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएको थियो । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो ।

भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा कीर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो । खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो ।

त्योविरुद्ध खाँणसहितका आरोपीहरु उच्च अदालत, पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । खरेलले तत्काल उनी निर्दोष भएकाे आधारहरु नदेखिएको भन्दै छाड्नु नहुने राय दिएका थिए । त्यसपछि बिहीबार तेस्रो न्यायाधीश कहाँ पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १८:०१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।