काठमाडौं- चिकित्सा शिक्षा अभियानका अभियन्ता डा. गोविन्द केसी यतिबेला धनगढीको राधाकृष्ण मन्दिरको धर्मशालामा अनसनरत छन्। डा. केसीले सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीबाट सत्याग्रह सुरु गरेका हुन्।
उनले सत्याग्रह थालेको आज तेस्रो दिन हो। गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्ने भनेर उनी धनगढी पुगेका थिए। तर, गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन्।
स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क/सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँचका तथा सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफूसँग गरेको कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको डा . केसिले बताएका छन्।
तर, कैलालीमा उनको अनसनविरुद्ध प्रदर्शन र विरोध भइरहेको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रक्रिया अगाडि बढिरहेका बेला डाक्टर केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गर्नुपर्ने माग राख्नै अनसन थालेपछि विवाद भएको हो।
स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डाक्टर केसीलाई भवन निर्माणस्थलमा अनसन बस्न दिएको थिएन। स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डाक्टर केसीले विश्वविद्यालयको प्रक्रिया अगाडि बढिरहेका बेला फेरि प्रतिष्ठानको मुद्दा उठाएको केसीको विरोध गरिरहेको हो।
डाक्टर केसीले अनसन बसेको धनगढीको राधाकृष्ण मन्दिरको बाहिर पनि नाराबाजीसहित प्रदर्शन भइरहेको छ। डाक्टर केसीको अनसन ब्यानरमा गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय लेख्न आग्रह गर्दा नमानेपछि आफूहरू असन्तुष्ट रहेको संघर्ष समितिका संयोजक लोकराज पाण्डेय आगोले बताए।
‘अनसनको ब्यानरमा गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय लेखिदिनुस् भन्यो। मेडिकल विश्वविद्यालयको स्थापनाको नेतृत्व गरिदिनुस् भन्यौं। उहाँले हाम्रो कुरा सुन्नु भएन। विश्वविद्यालयको कुरा अघि बढिरहेका बेला प्रतिष्ठान स्वीकार्य हुँदैन। त्यसैले उहाँलाई अनसन बस्न दिएनौं,’ पाण्डेय भन्छन्।
६ अर्ब लगानीमा भौतिक पूर्वाधार निर्माण भइसकेको छ। तर, पूर्वाधारमा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के सञ्चालन गर्ने? भन्ने कुराको अझै टुंगो लागेको छैन।
२०७९ को माघमा मन्त्रिपरिषदको बैठकले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। मेडिकल विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाको विधायन समितिमा छलफलमा रहेका बेला डाक्टर गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन हुनुपर्ने भन्दै अनसन सुरु गरेपछि विवाद भएको हो।
गेटामा अहिले ६ सय शय्याको अस्पताल भवन, एमबीबीएसका लागि कलेज भवन, चिकित्सक र नर्सिङ आवासहरू, विद्युतको सवस्टेशन, सडक, घेरबार, प्रशासनीक भवनहरू बनिसकेको अवस्थामा सुदूरपश्चिमका जनताको भावनामा कसैले पनि खेल्न नहुने आगोको भनाइ छ।
उनले डाक्टर केसीमाथि उच्च सम्मान रहे पनि पछिल्लो समय आफूहरूको भावना विपरित आवाज उठाइरहेकाले विरोध गरिएको बताएका छन्। उनले केसीले जनताका लागि अनसन बसिरहेकाले आफूहरूको भावनाको कदर गर्न माग गरेका छन्।
यस्ता छन् सत्याग्रहका मागहरू
सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने उनको माग छ।
यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने, एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने माग रहेका छन्।




















प्रतिक्रिया