Logo

प्रमुख समाचार

बुढानीलकण्ठ निवास सर्न ज्योतिषको ‘सल्लाह’ कुर्दै देउवा



काठमाडाैं । गत वर्ष १० पुसमा राजनीतिक समीकरण बदलिँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगे । बालुवाटार छाडेर उनी बुढानीलकण्ठ निवास गएनन्, धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र न्यौपानेको घर भाडामा लिएर सरे । कारण थियो, निजी निवासको मर्मत । साथै, ज्योतिषको ‘सल्लाह’ ।

एक वर्षदेखि जारी देउवानिवास मर्मत कार्य लगभग अन्तिम चरणमा छ । तर, मर्मतका कारणले मात्रै देउवा घर सर्न भने रोकिएका होइनन्। यसमा उनको ज्योतिष परामर्शले पनि काम गरेको छ । उनी प्रायः ज्योतिषीको सल्लाहअनुसार ‘मुभ’ गर्ने गर्छन् । देउवाले परामर्श गरिरहेका ज्योतिष तथा वास्तुविज्ञ सुरेशचन्द्र रिजालका अनुसार आफूसँगको परामर्शका आधारमा बालुवाटारबाट बाहिरिनेदेखि वास्तु मिलाएर मर्मत र घर सर्ने साइतको खोजी भइरहेको छ । पछिल्लो समय घर सर्ने साइतका लागि पनि उनीसँग देउवाले परामर्श गरेका थिए ।

‘बुढानीलकण्ठ शेरबहादुर देउवालाई भाग्योदय गराउने ठाउँ हो । त्यहाँको घर आफैँमा वास्तुसम्मत छ, तर ग्रह परिवर्तन भएअनुसार वास्तुमा पनि फेरबदल गर्नुपर्ने हुन्छ । त्यहीअनुसार अहिले घरको संरचनामा सामान्य परिवर्तन गर्न लागिएको हो । पछिल्लो समय मर्मतको काम भइरहेको छ । काम भइरहेको समयमा पनि एक–दुईपटक वास्तुसम्मत काम भए–नभएको बुझ्न बुढानीलकण्ठ गएको छु । जुन दिन साइत गरेर बुढानीलकण्ठ जानुहुन्छ, त्यसले उहाँलाई थप शक्तिशाली बनाउँछ । ग्रहका सबै अवस्थालाई हेरेर बालुवाटारबाट धुम्बाराही र धुम्बाराहीमा केही समय होल्ड गरिएको हो । त्यसै कारण उहाँको धुम्बाराही बसाइ लम्बिएको हो,’ रिजालले भने।

बुढानीलकण्ठस्थित घरको मुख्यद्वार (गेट)को संरचना पूर्ण रूपमा फेरबदल गर्ने गरी काम भइरहेको छ । साथै, घरका भित्री र बाहिरी संरचनामा केही परिवर्तन गरिएको छ । रिजालका अनुसार घरको छतमा रहेको स्विमिङ पुलको उचाइ र संरचनामा परिवर्तन गरिएको छ । प्रवेशद्वारमा वास्तुको दोष मेट्न तामाका तार र क्रिस्टल राखेर वास्तुसम्मत बनाउन लागिएको छ । ‘प्रवेशद्वारमा क्रिस्टल राख्ने, वास्तुको दोष मेट्न तामाका तार राखेर वास्तुसम्मत बनाउन खोजेको हो । पानीको थोरै कुरा थियो । स्विमिङ पुलको उचाइ र संरचनामा फेरबदलको काम भइरहेको छ,’ ज्योतिष रिजालले भने।

अहिले बसिरहेको भाडाको घरमा पनि देउवा ज्योतिषको सल्लाहअनुसार वास्तु र ग्रहदशालाई ध्यानमा राखेर सरेको र सोहीअनुसारको लाभ हासिल गरेको रिजालको दाबी छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार ०८:४५   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।