काठमाडौं- नेपाली कांग्रेसले पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउने भएको छ। पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएकोमा एस पटक नयाँ ढंकले दिवस मनाउन खोजिएको छ।
कांग्रेसले यस पटक प्रज्ञाभवनमा हुने कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबीच मेलमिलाप भन्ने नाराका साथ दिवस मनाउने भएको हो।
पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम हुने तय भएको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए। ‘२०३३ पुस १६ मा बिपी राष्ट्र र राष्ट्रियताका लागि राजासँगै मिलेर काम गर्छु भनेर आउनु भयो । सोही दिन हामीले संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउनका लागि दलहरुका बिचमा मेलमिलाप गर्ने उद्देश्यक राखेका छौं,’ उनले भने।
कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेछन्।
विस्तृत शान्ति सम्झौता र संविधान कार्यान्वयनका पक्षधर दलका बिचमा अहिले मेलमिलाप आवश्यक रहेको कांग्रेसको निष्कर्ष रहेको विश्वकर्माले बताए। बुधबार कांग्रेस सभापति देउवाले पाँच दलका अध्यक्षलाई फोन गरेर अनौपचारिक निम्तो दिसकेका छन्। आज कांग्रेसले उनीहरुलाई कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रुपमा पत्र नै पठाउँदै छ।




















प्रतिक्रिया