काठमाडौं । १८औं वाणिज्य बैंकको रुपमा स्थापित ग्लोबल आइएमई बैंक १८औँ वर्षमा प्रवेश गर्दै छ । यही १७ पुसमा बैंक लिमिटेड १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गर्न लागेको हो। ०६३ मा ग्लोबल बैंक लिमिटेडको नामबाट स्थापना भएकोमा हाल ग्लोबल आइएमई बैंकको नाममा सञ्चालित छ।
२०६३ सालमा स्थापना भएको यो बैंकको १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना हुँदा रहेको थियो । बैंकले मर्जर हुदै पहिलो बैंक बन्ने अभियानको सुरुवात २०६८ माघ २० देखि सुरु गरेको थियो। ग्लोबल आइएमईलाई गाभिएर सुरु भएको बैंक मर्जरमा पछिल्लो समय बैंक अफ काठमाडौंलाई गाभेको छ।
यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो। उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि ग्लोबलले गाभेको थियो। तीन संस्था गाभिएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई बैंकको रुपमा रहेर एकीकृत कारोबार थाल्यो । त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको थियो भने त्यसको केही समयपछि गुल्मी विकास बैंक पनि गाभेको थियो। कमर्स एन्ड ट्रस्ट बैंकलाई र सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढाउँदै ठूलो बैंक बन्ने दौडमा लागेको थियो।
मर्जरकै क्रममा हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो। त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो। नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ। जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए।
त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेर यो बैंक मर्जर इतिहासमा सफल मर्जर बैंकको रुपमा देखिएको छ। चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहलगायतका वित्तीय सूचकका आधारमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा रहेको ‘ग्लोबल आइएमई बैंक लिमिटेड’स्थापित भएको छ ।
गत असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड (गत आवको बोनस लाभांशसहित ३६ अर्ब १२ करोड), कर्जा प्रवाह तीन खर्ब ७० अर्ब ७३ करोड र निक्षेप संकलन चार खर्ब ४३ अर्ब १६ लाख रहेको छ, यो अन्य १९ वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो। बैंकको कुल सम्पत्ति पनि सबैभन्दा धेरै छ। गत असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति पाँच खर्ब ४६ अर्ब २६ करोड ६२ लाख रुपैयाँ रहेको छ।
वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई कर्जा विस्तारमा ८.४२ प्रतिशत र निक्षेप संकलनमा ८.५९ प्रतिशत बजार हिस्सा छ । बैंकले चालू आवको पहिलो तीन महिनामा सरकारलाई ५५ करोड ३६ लाख ७६ हजार आयकर बुझाएको छ, गत आवमा भने दुई अर्ब ८५ करोड चार लाख आयकर बुझाएको थियो।
हाल बैंकले नेपालका ७७ वटै जिल्लामा तीन सय ५५ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
बैंकमा कार्यरत करिब चार हजार कर्मचारीले ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । बैंकका सबै शाखाहरू पूर्ण-सेवा आउटलेटहरूको रूपमा स्थापित छन् जसले आफ्ना ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवाहरू प्रदान गर्दछ।




















प्रतिक्रिया