काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेका छन्। आफ्नो क्याविनेटका मन्त्रीहरूप्रति आफैँ सन्तुष्ट नरहेका प्रचण्डले केही मन्त्रीलाई फिर्ता बोलाउन चाहिरहेको बताइएको छ।
प्रधानमन्त्रीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता गर्न चाहिरहेका हुन्।
प्रधानमन्त्रीले मंगलबार बेलुकी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरेर नेकपा एसबाट मन्त्री भएका ज्वालालाई फिर्ता गर्न आग्रह गरेका थिए।
बालकुमारीमा अप्रिय घटना हुनुमा मन्त्री ज्वालाको पनि हात रहेको भन्ने विवेचना भएसँगै प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन्। प्रचण्डको आग्रहमा नेपालले के जवाफ दिए भन्नेबारेमा यकिन आइसकेको छैन।
बालकुमारी घटनामा कोरियाली भाषा परीक्षाको माग गर्ने दुई युवाको मृत्यु भएको थियो। युवाहरू आन्दोलित रहेका बेलामा सोही सडकको प्रयोग गरेर मन्त्री ज्वाला जबरजस्ती अगाडि बढ्न खोज्दा उनी सवार सरकारी गाडी आक्रोशित युवाहरुले जलाएका थिए।
उता मन्त्री किराती पनि एउटा कार्यक्रममा दिएको अभिव्यक्तिले विवादमा तानिएका छन्। क्रिश्यन धर्मको प्रचारक जस्तो बनेको भन्दै उनको विरोध भइरहेको हो।
प्रधानमन्त्रीले आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा पनि मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका थिए। तर, गठबन्धनको प्रमुख दल कांग्रेसका कारण तत्कालका लागि उनको योजना रोकिएको थियो।
पछिल्लो समय दुई मन्त्री निकै विवादित बनेपछि उनले उनीहरूलाई मात्रै भए पनि फेर्न चाहेको स्रोतको भनाइ छ। पार्टीले दुई वर्षका लागि मन्त्री पठाएको उल्लेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल मन्त्री फेर्न नहुने दाहालसमक्ष बताएका थिए। गत साता प्रधानमन्त्री दाहालले गठबन्धन बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे जानकारी दिएपछि देउवाले उक्त धारणा राखेका थिए।
आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको प्रसंग स्मरण गराउँदै देउवाले आगामी एक वर्ष हालका आफ्ना मन्त्री कायमै रहनुपर्ने धारणा राखेका थिए। दाहालले आफ्नो पार्टीका मन्त्री मात्र फेर्दा गलत सन्देश जाने भएकाले हाल स्थगित गरेको एक नेताले बताए। गठबन्धनमा रहेका ६ दलको सहमतिबिना प्रधानमन्त्री दाहाललाई मन्त्री फेर्न कठिन हुनेछ।
प्रचण्ड अर्थमन्त्री फेर्ने मुडमा देखिएपछि देउवाले गृहमन्त्री पनि बदल्नुपर्ने धारणा राखेका थिए। नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करीमा गृहमन्त्री श्रेष्ठले चालेको कदमले सरकारको साख जोगाएको भन्दै प्रधानमन्त्री दाहाल तत्काल गृहमन्त्री फेर्ने/नफेर्नेबारेमा द्विविधामा छन्।
स्रोतका अनुसार प्रधानमन्त्री दाहाल अर्थ, शिक्षा, ऊर्जा, श्रम, भूमि व्यवस्था, उद्योगमन्त्रीसँग सन्तुष्ट छैनन्।




















प्रतिक्रिया