काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा क्लस्टर मिलाउनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले भागबन्डा मिलाएको हो ।
नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकका अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन् ।
माओवादी केन्द्रले मधेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक/एक सिटमा उम्मेदवार उठाउने भएको छ ।
माओवादीले पाएको सिटअनुसार क्लस्टर मिलाउनका लागि पार्टीभित्र आन्तरिक छलफल भइरहेको माओवादीका एक पदाधिकारीले जानकारी दिए । प्रदेश अनुसारको क्लस्टरमा सहमति भएपछि माओवादीको पदाधिकारी बैठकले उम्मेदवार टुंग्याउने छ ।
१९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।




















प्रतिक्रिया