काठमाडौं- उद्यमशीलताको सुरुवात गर्नु र त्यसमा सफलता प्राप्त गर्नु आफैँमा चुनौतीपूर्ण छ। हाम्रो जस्तो पुरुष प्रधान देशमा त झनै महिलाहरूले उद्यमी बनेर सफलता हासिल गर्नु ठूलै कुरा हो। अहिले पनि नेपालमा महिलाहरू लैङ्गिक समानताको संघर्षमा छन्।
सामाजिक मापदण्ड र उपेक्षाले महिलाहरूलाई सीमित दायरामा राखेको छ। ती दायरालाई चिर्दै अगाडि बढ्ने महिलाहरू आज सफलताको पगरी बेरिरहेका छन्। त्यस्तै सफलताको पगरी बेर्नेभित्र पर्छिन् महिला उद्यमी सितारा राजभण्डारी।
जीवनको ७ दशक अर्थात् ७० वर्ष नाघेकी सितारा आफ्नो काम र कर्तव्यप्रति आज पनि उत्साहित र जागरिली देखिन्छन्। महिलाले घरकै कामकाज गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै उनले ‘स्पाइसी होम स्पाइसेज’ नामक मसला व्यवसाय सञ्चालक गरेको वर्षौ भयो। सन् २००० सालदेखि उनले स्पाइसी होम स्पाइसेज उद्योग सञ्चालन गरेकी हुन्।
थापाथलीस्थित पञ्चायन मार्गमामा राजभणरीका दुईवटा घर छन्। एक घरमा सितारा श्रीमानसँगै बस्दै आएकी छिन्। अर्को घरमा सितारालाई पहिचान दिने उद्योग सञ्चालनमा छ।
स्पाइसी होम स्पाइसेस उनको एउटा सानो व्यावसायिक उद्यम हो। सन् २००० देखी उनले उक्त उद्योग सञ्चालन गर्दे आइरहेकी छन्। घरको भान्साबाट सुरु गरेको मसला उद्योगमा अहिले १४ प्रकारका मसला उत्पादन भइरहेका छन्।
सितारा काठमाडौंको पुतली सडकस्थित संयुक्त परिवारमा वि. सं. २००५ साल फागुन १ गते जन्मिएकी हुन्। पाँच दिदीभाइ मध्यकी उनी कान्छी सन्तान हुन्। उनको परिवारमा पुरुष सदस्य सबै जागिरे थिए। दाजु-भाइ विद्यालय जान्थे। दिदीहरू भने घरमै बस्ने गर्थे। उक्त समयमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन। त्यसैले उनी दिदीहरूसँग घरकै काममा व्यस्त हुन्थिन्।
उनका ठुलाबुबाले भने छोरीलाई पनि विद्यालय पढाउनुपर्छ भन्ने मान्यता राख्थे। ठुलाबुबाको सोही धारणाका कारण सिताराले पनि दाजुभाइसँगै विद्यालय जाने अवसर पाइन्। उनको प्रारम्भिक शिक्षा पद्मकन्यामाबाट भयो। वि.सं. २०२२ सालमा बिए सकिन्। त्यसपछिको शिक्षा उनले हासिल गर्न पाइनन्।
अध्ययन गर्न नपाएपछि उनी पनि घरकै काममा व्यस्त हुन थालिन्। त्यति बेला छोरी मान्छेले बिहेपछि मात्र जागिर गर्नुपर्छ भन्ने मान्यता उनको परिवारमा थियो। घरदेखि बाहिर जाने कामका लागि उनको घरपरिवारले अनुमति दिएको थिएन। उनलाई सानैदेखि आफू केही बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर, त्यो समयमा आफ्नो सपनालाई सार्थक तुल्याउन उनलाई निकै गाह्रो थियो।
बेलुकी निकै साहस जुटाएर श्रीमान्सँग मनको कुरा भनिन्। उक्त तालिम लिन चाहेको बताइन्। उनका श्रीमान्ले श्रीमतीको कुरालाई सहजै स्विकारे। उत्साहित भएर तालिममा सहभागी हुन भने।
उनले सिलाई बुनाइ, पकवान बनाउने काम घरमै सिकिन्। छोरीले घरदेखि बाहिर गएर काम गरे बिहे गर्न केटा पाइँदैन भन्ने मान्यता परिवारमा भएकाले उनले बाहिर गएर काम गर्ने अवसर पाइनन्।
वि.सं. २०३१ सालमा उनको विवाह भयो। श्रीमान् कृषि विकास बैंकमा जागिरे थिए। विवाहपछि उनका चार जना छोराछोरी भए। त्यसपछि छोराछोरी हुर्काउँदै १५ वर्षसम्म घरकै कामकाजमा जीवन बिताइन्। जागिरे बनेर आफ्नो कामले नाम रोशन गर्ने रहर उनमा पनि थियो। तर, आफ्नो चाहनाबारे विवाहको १५ वर्षसम्म पनि श्रीमान्सँग उनले व्यक्त गर्न सकिनन्।
उनी घरमा पत्रपत्रीमा छापिएका लेखहरू पढेर बस्थिन्। एकदिन पत्रिका पढ्दै गर्दा उनको ध्यान एक विज्ञापनमा गयो। जहाँ लेखिएको थियो स्मोल बिजनेस प्रमोसन सेन्टर थापाथली। त्यो उनको घर नजिकै थियो। त्यो दिन उनलाई आफूले वर्षौदेखि मनमा गुम्साएर राखेको इच्छा श्रीमान्लाई व्यक्त गर्ने मन लाग्यो। बेलुकी निकै साहस जुटाएर श्रीमान्सँग मनको कुरा भनिन्। उक्त तालिम लिन चाहेको बताइन्। उनका श्रीमान्ले श्रीमतीको कुरालाई सहजै स्विकारे। उत्साहित भएर तालिममा सहभागी हुन भने।
भोलि पल्ट नै उनी उक्त अफिस पुगिन्। पहिलो पटक घरदेखि बाहिर आफ्ना केही सपना बोकेर जाँदा उनी निकै उत्साहित थिइन्। धेरै लामो समयसम्म घरमा बस्दा आफू त्यो समय निकै नर्भस भएको उनी स्मरण गर्छिन्।
त्यहाँ उनले एक महिलासम्म तालिम लिइन्। तालिममा व्यवसाय कसरी गर्ने भन्ने सिकाइयो। त्यहाँबाट उनलाई आफू व्यावसायिक महिला हुने आट पलायो। स्विटर बुन्न राम्रोसँग आउने हुँदा उनले स्विटर बुन्ने व्यवसाय सुरु गर्ने सोच बनाइन्। त्यति बेला उनले स्विटरका डिजाइन भएको क्याटलक थापाथलीस्थित एकता बुक सेन्टरबाट किनेकी थिइन्। सोही बुक हेरेर उनले स्विटरका विभिन्न डिजाइन बनाउन थालिन्।

आफूसँगै उनले दुईजना सहयोगी राखिन्। उनले ठमेलबाट उन ल्याएर स्विटर बुन्न थालिन्। बुनिसकेपछि स्विटर बेच्नका लागि ठमेल लगिन्। तर, स्विटर बेच्दा उनको मूल्य पनि आएन। उनको डिजाइन त्यहाँ रुचाइएन। त्यसपछि उनले लाजिमपाटको एक ठाउँमा स्विटर बुन्ने तालिम लिइन्। एक महिनासम्म तालिम लिएपछि १५ जना महिलालाई स्विटर बुन्ने सहयोगी राखेर घरमै व्यवसाय सुरु गरिन्। यसरी उनले १० वर्षसम्म स्विटरको व्यवसाय गरिन्। त्यो समयमा एक स्विटरको मूल्य ४ सयदेखि ५ सय हुन्थ्यो।
यहीबिचमा उनी नेपाली महिला उद्यमी संघमा आबद्ध भइन्। उक्त संस्थामा उनले मसला सम्बन्धी तालिम लिएकी थिइन्। संस्थाबाट उनले बनाएको मसला जापानमा बिक्रीका लागि पठाइयो। त्यसपछि उनले २००० जनवरीमा आफ्नै घरमा मसला व्यवसाय भान्साबाटै सुरु गरिन्।
उनले घरमै गिरेन्डर राखेर मसला व्यवसाय सुरु गरेकी हुन्। १५ जना सहयोगी राखेर उनले मसला व्यवसायको थालनी गरेकी थिइन्। त्यो समयमा उनको मासिक आम्दानी २ देखि ३ लाखसम्म हुन्थ्यो। उनले उत्पादन गरेको मसला नेपाली महिला उद्यमी संघ संस्थामार्फत बजारीकरण गरिन्थ्यो।
‘मैले ग्रामीण क्षेत्रका किसानहरूबाट कच्चा पदार्थ आयात गर्ने गरेकी छु। स्याङ्जा, पाल्पा, अर्घाखाँचीलगायत स्थानबाट कच्चापदार्थ मगाउने गरेकी छु। बेसार, खुर्सानीलगायत १३ प्रकारका कच्चापदार्थ गाउँबाट नै मगाउने गरेकी छु,’ उनले भनिन्।
नेपाली महिला उद्यमी संघ संस्थाबाट उनले तालिमका लागि भारतमा पनि जाने अवसर पाइन्। उनी मसला सम्बन्धि तालिम दिनकै लागि भुटान, फिलिपिन्स जस्ता मुलुकसम्म पुगेकी छन्। उनले तयार पारेको मसला जापानमा निर्यात हुन्थ्यो। तर, २०११ को सुनामीपछि उनको बाहिर निर्यात रोकियो। त्यसपछि उनले नेपालमै निर्यात गर्न थालिन्।
उनले बनाएका मसलाहरू शाकाहारी र मांसाहारी परिकारमा प्रयोग गर्न सकिन्छ। उनको उद्योगमा उत्पादित मसला रासायनिक मिश्रणबाट मुक्त छन्। प्राकृतिक र जैविक उत्पादनबाटमात्र उनले मसला तयार पार्दै आएकी छन्।
‘मैले ग्रामीण क्षेत्रका किसानहरूबाट कच्चा पदार्थ आयात गर्ने गरेकी छु। स्याङ्जा, पाल्पा, अर्घाखाँचीलगायत स्थानबाट कच्चापदार्थ मगाउने गरेकी छु। बेसार, खुर्सानीलगायत १३ प्रकारका कच्चापदार्थ गाउँबाट नै मगाउने गरेकी छु,’ उनले भनिन्। उनले सिजनमा कच्चा पदार्थ खरिद गरेर भण्डारण गर्दै त्यसैबाट मसला तयार पार्दै आएको सुनाइन्।
बजारमा अन्य मसलाको मूल्य वृद्धि भए पनि आफूले उत्पादन गरेको मसलाको मूल्य भने नबढेको उनको भनाइ छ। जिरा, धनियाँ, खुर्सानी, दालचिनी, गरम मसला, मिट मसलालगायत १४ प्रकारका मसला आफूले उत्पादन गर्दै आएको उनले बताइन्। उनले तयार पारेको मिक्स मसलामा नुन राखेमात्रै पुग्छ। विभिन्न प्रकारका प्याकमा उनको कम्पनीका मसलाहरू बजारमा पाइन्छन्। उनले उत्पादन गरेको मसला फुड मार्टदेखि विभिन्न पसलहरूसम्म सहज रूपमा पाइन्छ।
पाँच जना सहयोगीका भरमा उनले मसला उद्योगलाई अगाडि बढाइरहेकी छन्। हाल मासिक एक लाखसम्म आम्दानी गर्ने गरेको उनको दाबी छ।
‘सफलताको पहिचान आफैले कोर्ने हो। त्यसका लागि संघर्ष गर्नुपर्छ। फलानोको दिदी, बहिनी, श्रीमती, भाउजु भनेर चिनिनु भन्दा आफ्नै पहिचानले चिनिनुमा महिलाको अस्तित्व रहन्छ,’ उनले भनिन्। उनले पहिले आफ्नो परिचय एक नारी बाहेक अरू केही नभए पनि अहिले एउटा सफल उद्यमीका रूपमा पहिचान बनाउन सफल भएको बताएकी छन्। उनले सफल उद्यमीका रूपमा परिचय पाउँदा गौरव लाग्ने महसुस हुने गरेको बताएकी छन्।
उनी अहिले ७५ वर्षकी भइन्। उमेर बढ्दै गएपछि उनलाई नसाको समस्या बल्झिँदै गएको छ। उनी घरमै व्याम गरेर स्वस्थ रहने प्रयास गरिरहेकी छन्।
उनले ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राखेर उच्च गुणस्तरको अर्ग्यानिक मसला विभिन्न वजनका प्याकमा बजारमा सुपथ मूल्यमा उपलब्ध गराउने प्रयास जारी नै रहने बताएकी छन्।





















प्रतिक्रिया