Logo

खेलकुद

अपराजित यात्रा कायम राख्दै लुम्बिनी प्लेअफको नजिकै



काठमाडाैं । एनपीएल क्रिकेटको साविक विजेता लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लुम्बिनीले बिहीबारको खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो ।

१५० रनको औसत लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । पराजका बाबजुत यो लुम्बिनीविरुद्ध यस सिजन कुनै पनि टोलीले बनाएको सर्वाधिक धेरै रन हो । यसअघि लुम्बिनीसँग खेलेका कुनै पनि टोलीले १ सय रन कटाउन सकेका थिएनन् ।

आजको जीतसँगै लुम्बिनी चार खेलबाट ७ अंकसहित शीर्ष स्थानमा कायम छ । जससँगै लुम्बिनीको प्लेअफको नजिकै पुगेको छ ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले २० बलमा ३३ रन बनाए भने आदित्य महताले २३ बलमा अविजित ३० रन बनाए । यो जोडीले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । लुम्बिनीका डार्शी सर्टले ३, तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । जनकपुरका अभिषेक तिवारीले ३ तथा विशाल सुशलिङ र राहुल यादवले २–२ विकेट लिए । आजको हारसँगै जनकपुरलाई प्लेअफ खेल्न बाँकी खेल जित्नुपर्ने दबाब बढेको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।