Logo

स्वास्थ्य

कोभिडको उपचारमा सरकार पन्छिएपछि :कार्तिक २ यता मृत्युदर २६.११ प्रतिशत पुग्यो



कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । जुन निर्णयपछि संक्रमितहरु थलिए पनि उपचार गर्न अस्पताल जान छाड्नाले होम आइसोलेसनमा मृत्यु हुनेको दर बढेको छ ।

नेपाली सेनाले शुक्रबारसम्ममा घरमै मृत्यु भएका १ सय ६ जनाको शव व्यवस्थापन गरेको तथ्यले पनि सरकारको पछिल्लो निर्णयको असर देखिन थालेको छ । कोरोनाले मृत्यु भएकाको संख्या कार्तिक १ मा ७ सय २७ थियो । १७ गते यो संख्या ९ सय ८४ पुगेको छ । यो बीचमा मृत्यु भएकाको संख्या २ सय ५४ कूल मृत्युको २६.११ प्रतिशत हो ।

सरकार कन्ट्याक्ट ट्रेसिङमा पनि चुकेको विज्ञहरु बताउँछन् । अस्पतालमा शय्या अभावले संक्रमितको ज्यान जाँदा पनि सरकारले अनुगमन गर्न नसकेको उनीहरुको भनाइ छ । संक्रमित र उसको सम्पर्कमा भएका व्यक्तिको निगरानी राज्यले नगर्दा कोही घरमै मृत्यु हुन्छ, कोही रोग सारेको सार्यै हिँड्छन् ।

यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोभिडले हालसम्म मृत्यु भएका ७५ प्रतिशतमा पहिलेदेखि नै गम्भीर रहेको देखिएको छ भने केही नभएका र कोभिड लक्षण मात्र भएका करिब २५ प्रतिशतको समेत मृत्यु भएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ८ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।