Logo

अर्थ

नबिल बैंकले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा योजना



काठमाडौं । नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना सुरु गरेको छ। बैंकले बिहीबारदेखि सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जा सीमा १० करोडसम्मको छ।

वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित न्युनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको छ ।

विदेशबाट फर्किएका व्यक्तिले यो कर्जा लिन सक्नेछन्। यसमा ब्याजदरलगायत सहुलियत रहेको र सबै काम डिजिटल माध्यमबाट हुने भएकाले झन्झटिलो नरहेको बैंकको दाबी छ। बैंकले योजना अगाडि बढाउन सरकारसँग सहकार्य गरिने बताएको छ।

बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा समेत प्रदान गर्नेछ । नबिल बैंकले लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताए ।

दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैंकले धेरै नाफा कमाउने उद्देश्य नल्याएको बताए । विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षाले यो योजना अघि सारेको बताए ।

बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ देखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको बताए । उनले विदेशमा गएका नेपाली श्रमिकहरुले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्सान गर्ने दाबी गरे । औपचारिक रुपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १६:१२   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।