Logo

प्रमुख समाचार

काली–कर्णालीको लोकसाहित्यका सतिसाल ‘यज्ञराज उपाध्याय’



काठमाडौं- नेपाल कला–साहित्यमा वैभवशाली भूमि हो। मेचीदेखि कालीसम्म हाम्रा छुट्टाछुट्टै संस्कृतिहरू छन्। हामीले एक अर्काको संस्कृतिलाई सम्मान गर्न जानेका छौं। सम्मानमा आत्मीयता हुन्छ, आत्मीयतामा प्रेम। त्यही प्रेमले त अनेकतामा एकता कायम गरेको छ। हाम्रा पुर्खाहरूले संस्कार, संस्कृति, एकता र बन्धुत्व सिकाए। आज हामी त्यसैको जगमा उभिएर विश्व मानचित्रमा एकतात्मक बन्धुत्वको झण्डा फहराइरहेका छौं। यज्ञराज उपाध्याय जस्ता संस्कृतिविद्हरूले हामीलाई सांस्कृतिक चेतना प्रदान गरिरहेका छन्। संस्कृतिको रस र रागलाई नवीन पुस्ताहरूसम्म सुगन्धित तुल्याउने कर्ममा उपाध्याय सक्रिय छन्।

उनको जन्म २०२३ साल १८ असोजमा स्वर्गीय पिता नन्दलाल उपाध्याय र स्वर्गीय माता सुर्जा उपाध्यायको कोखबाट साँफेबगर नगरपालिका–२ गोयलापानीमा कान्छो पुत्ररन्तका रूपमा भएको हो। ब्राह्मण परिवारमा जन्मिएका उपाध्यायको बाल्यकाल रमाइलोसँग वित्यो। उनी गाउँकै माटोमा लडिबुडी गर्दै हुर्किए। त्यही भूमिमा रहेर प्रारम्भिक शिक्षा प्राप्त गरे। त्रिपुरा सुन्दरी माध्यमिक विद्यालय श्रीकोटबाट उनले एसएलसीसम्मको शिक्षा हासिल गरे। तर, दुःखको कुरा उपाध्यायले जीवनमा लामो समयसम्म मातृ वात्सल्य प्राप्त गर्न सकेनन्। उनकी ममतामयी माताको १४ वर्षको हुँदा नै निधन भयो। जुन अभाव उपाध्यायलाई अहिले पनि खड्किनै रहन्छ। हुन त उनले पितृ वात्सल्य पनि लामो समयसम्म पाउन सकेनन्। उनले वि.सं. २०५४ सालमा ८४ वर्ष पुगेका पितालाई २४ वर्षको उमेरमा गुमाए। उपाध्यायका तीन दाजुभाइ दुई दिदी बहिनी। उनी कान्छो सन्तान भएकैले पनि घरमा सबैका प्रिय थिए। उनका जेठा दाजु मनिराज र माइला दाजु नवराजले पनि भाइलाई औषि स्नेह गर्थे।

उपाध्याय सानैदेखि गीत–सङ्गीतमा रुचि भएका व्यक्ति हुन्। अछामको सन्दर्भमा एउटा गीत छ,
बान्नीगडी बरदादेवी, कोटघर कालिका
अछाम त वैकुण्ठ रैछ, धन्य हो मालिका
नेपालका चार धाममध्ये वैद्यनाथ धाम अछाममा, नेपाली भाषाको प्राचीन विकसित स्वरूप पनि अछाममा पाइन्छ। काली–कर्णाली क्षेत्र लोक साहित्यको विराट र अनुपम भण्डार हो। अछाम गीत–सङ्गीतको पनि उर्वर भूमि हो। उनी बाल्य अवस्थादेखि नै न्याउल्या, फाग, धमारी, देउडा, हुड्केली सुन्दै हुर्किए। उनको वालसुलभ हृदयमा ती गीतको नामेट छाप थियो। उनका पिताको चाहना थियो छोरा संस्कृत पढेर आफू जस्तै विद्वान ब्राह्मण होस् यात कानुन पढेर वकिल होस्। बुबाको चाहना अनुरूप नै कानुन पढ्न उपाध्याय राजी भए। त्यसका लागि उनी नेपालगञ्ज आए। महेन्द्र बहुमुखी क्याम्पसबाट कानुनमा प्रमाणपत्र तह अध्ययन गरे। त्यसपछि काठमाडौं आएर नेपाल ल क्याम्पसबाट विएल गरे। कानुन पढे पनि उपाध्यायको रुचिको विषय लोक साहित्य, गीत–सङ्गीत र साहित्य नै थियो। हृदयको झङ्कार कला साहित्यमा भएकाले उनी यतै आकर्षित भए।

गाइने भयो भन्दै जब बुबाले चित्त दुखाए…

आज भन्दा ५८ वर्ष पहिले सुदूरपश्चिममा जन्मिएको एउटा ब्राह्मणको छोरालाई गीत–सङ्गीतमा भविष्य खोज्नु फलामका च्युरा चपाउनु जस्तै थियो। चुनौतीका भीमकाय पहाड उक्लिनु जस्तै थियो। उपाध्यायलाई यी सबै विषयको ज्ञान थियो। तर, उनले हिम्मत हारेनन्। आफ्नो सपनाको यात्रामा उडान भरिरहे।

हृदयमा बसेको गीत–सङ्गीतप्रतिको छापलाई कुनै पनि चिजले मेट्ने सक्ने अवस्थामै थिएनन् उपाध्याय। उनले बुबाले भनेको कुरालाई नसुने झैँ गरिदिए र काठमाडौं आइसकेपछि २०४४ सालमा ‘गाईजात्रा प्यारोडी’ क्यासेट निकाले।

‘आज भन्दा ४५ वर्ष पहिले अवस्था निकै जटिल थियो। कुरा म ६ कक्षा पढ्दाको हो, स्कुलबाट वनभोजको आयोजना गरिएको थियो। मेरो घरको बाटो हुँदै हामी वनभोजमा हिँडिरहेका थियो। एक जना नैने दमाईं मिल्ने साथी थिए। उनले मादल बोकिरहेका थिए। ममा हिँड्दै मादल बजाउने रहर निकै जाग्यो। मैले नैनेको हातबाट मादल समातेर काँधमा बोकेर बजाउन थालेँ। त्यो मेरी आमाले देख्नु भएछ। वनभोजबाट घर फर्किदा आमाले सुन पानी छर्केरमात्र भित्र पस्न दिनु भयो,’ उपाध्याय सम्झिन्छन्। त्यो समय नै त्यस्तै थियो। समाजमा चलेको रुढीग्रस्त चलन भन्दा बाहिर गए सामाजिक बहिस्कारमा परिने डर हुन्थ्यो।

उनले आमासँग ब्राह्मणको छोराले मादल बजाउनु हुँदैन भन्ने थाहा थिएन भनेर माफी मागे। बुबालाई पनि संस्कृत पढेर छोरा कर्मकाण्डी विद्वान हुन नसके पनि कानुन पढेर वकिल होस् भन्ने लागेको थियो। त्यसैले उनका बुबाले बेला–बेला भन्थे, ‘छोरो मेरो इच्छा अनुसारको बाटोमा लागेन, उत गीत गाउने गाइने भएछ।’

हृदयमा बसेको गीत–सङ्गीतप्रतिको छापलाई कुनै पनि चिजले मेट्ने सक्ने अवस्थामै थिएनन् उपाध्याय। उनले बुबाले भनेको कुरालाई नसुने झैँ गरिदिए र काठमाडौं आइसकेपछि २०४४ सालमा ‘गाईजात्रा प्यारोडी’ क्यासेट निकाले। त्यसमा तत्कालीन अवस्थाका पञ्चायतका विकृति, विसंगति, समाजका विकृति, विसंगतिहरू गाईजात्रे प्यारोडीमा समावेश गरिन्थ्यो। उपाध्यायले पनि त्यही गरे। टेपहरूको जवाना थियो। उपाध्यायको क्यासेट पनि अछाममा पुग्यो। टेप रेकर्डमा राखेर सबैले बजाउन थालेपछि उनका बुबाले पनि सुनेछन्। त्यतिबेला उनले भनेछन्, ‘छोरा कानुन पढेर न्यायाधीश बनोस्, वकिल बनोस् भनेर पढ्न पठाए। उ त गाइने भएछ।’

बुबाको गुनासो सुनेपछि उपाध्यायलाई दुःख लाग्यो। तर, अन्तस्करणको चाहनालाई उनी निमोठ्न सक्ने अवस्थामै थिएनन्। ‘गीत–सङ्गीतमा लागेकै कारण २०५२ सालमा नेपाल सरकार संस्कृति मन्त्रालयबाट मैले राष्ट्रिय प्रतिभा पुरस्कार पाएँ। त्यो समयमा पुरस्कारको राशि १५ हजारमात्रै थियो। अहिले त एक लाख पुगेको छ। पुरस्कार पाइसकेपछि यति सानो उमेरमै यज्ञराजले त प्रतिभा पुरस्कार पायौ भनेर सबैतिर चर्चा हुनथाल्यो। त्यसपछि अछाममा भरत कुमार स्वारले जिल्ला विकास समितिको सभापति हुनुहुन्थ्यो। उहाँले पनि अछाममा मेरो अभिनन्दन कार्यक्रम राख्नु भयो। मलाई ताम्रपत्र, दोसल्ला र १० हजार नगद प्रदान गरियो। त्यसपछि बुबाले अहो! यो क्षेत्र भनेको पनि नराम्रो रहेनछ, सोच्नु भयो,’ उपाध्याय सम्झिन्छन्। छोराले राम्रो कर्म र ठूलो काम गरेको रहेछ भनेर बुबा त्यसपछि आफूसँग खुसी भएको उपाध्याय स्मरण गर्छन्।

उनलाई गीत–सङ्गीत सरस्वतीको वरदान हो भन्ने थाहा थियो। त्यसैले जीवनमा यस्ता खाले घटना घट्दा उनी कहिले लक्ष्यबाट विचलित भएनन्। ‘ती कदमसँग डराएर पछाडि फर्किएको भए सायद म अहिलेको यज्ञराज हुन सक्थेन हुला जस्तो लाग्छ,’ उनी भन्छन्। उपाध्यायलाई जन्मिँदै आफूले गीत–सङ्गीतप्रतिको लगाव प्राप्त गरेको लाग्छ।

पहिलो प्रतिस्पर्धामै राईझुमाले प्रथम बनायो

उपाध्याय २०४१ सालमा नेपालगञ्ज झरे। उनी महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए। तुलसीमान श्रेष्ठ, पशुपति तिमिल्सेना जस्ता साहित्यप्रति अभिरुचि भएका गुरुसँगको सामीप्यमा उपाध्याय रहे। साहित्यकार नयनराज पाण्डेय र उपाध्याय जस्ता साहित्यिक अभिरुचि रहेका विद्यार्थीहरू पनि थिए। २०४१ सालमा नेपालगञ्जमा उनीहरूले जनजागृति साहित्यिक परिषद्को गठन गरे। त्यसको अध्यक्ष तुलसीमान श्रेष्ठ र सचिव पशुपति तिमिल्सेना थिए। २०४२ सालमा उक्त संस्थाले विभिन्न प्रतिस्पर्धा गर्न थाल्यो। सुरुमा लोकगीत प्रतियोगिता आयोजना भयो। उपाध्यायले त्यसमा भाग लिए। राईझुमा गाएर उनी प्रथम भए।

‘जीवनको पहिलो प्रतिस्पर्धाबाट प्राप्त सफलताले मलाई निकै खुसी तुल्यायो। त्यसपछि भएको दोहोरी गीत र कविता प्रतियोगितामा पनि म प्रथम भएँ। एकै वर्षमा मैले तीन वटा प्रथम पुरस्कारहरू नेपालगञ्जमा प्राप्त गरेको छु। यसले मलाई एकदम उत्साहित बनायो। त्यसपछि यस कर्ममै अगाडि बढ्नुपर्छ भनेर यसले मलाई प्रेरणा पनि प्रदान गर्‍यो,’ उपाध्याय स्मरण गर्छन्। त्यसपछि आफूहरूले थुप्रै सांस्कृतिक कार्यक्रम गरेको उनी बताउँछन्।

उपाध्याय लोक साहित्यका अथक योद्धा हुन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्ने विभिन्न महोत्सवमा संयोजकको भूमिका निर्वाह गरिसकेका उपाध्याय सधैँ लोक साहित्य र संस्कृतिकै उन्नयनमा सक्रिय देखिन्छन्।

२०४४ सालमा काठमाडौं आइसकेपछि नेपाल ल क्याम्पसमा भर्ना भएका उपाध्यायको सांगीतिक यात्रा यहाँ थप झाँगियो। त्यसपछि उनी हिमालयन कल्चरल सेन्टरमा भर्ना भएर गीत–सङ्गीतको बेसिक ज्ञान लिन थाले। शिलाबहादुर मोक्तानसँग उनले गीत–सङ्गीतको ज्ञान लिए। त्यसपछि २०४५ सालमा रेडियो नेपालमा उनले ‘राईझुमा’ गीत गाउँदै स्वर परीक्षा दिए। उनी त्यहाँ स्वरपास भए। विएल पास गरिसकेपछि २०५० सालमा रिमा रेकडिङबाट राईझुमा क्यासेट बजारमा ल्याए। त्यसपछि उनले पाँच सय गीतमा स्वर भरेका छन्। तर, उपाध्यायलाई जीवनको पहिलो गीतले नै साङ्गीतिक जीवनको शिखरमा पुर्‍याइदियो। ‘राईझुमाले दिएको पहिचानले मलाई अपार आनन्दको अनुभूति हुन्छ। गर्व लाग्छ। गौरवको अनुभूति पनि हुन्छ। राईझुमाले यो स्थान ओगट्ला। राईझुमा सबैको मन, मस्तिष्कमा यसरी बस्ला, मलाई यसरी परिचित गराएर अहिलेको यज्ञराज बनाउला भनेर मैले गाएको थिएन। मैले सामान्य गीतको रूपमा गाएको राईझुमाले एउटा उचाइ प्रदान गरिदियो। त्यसमा मैले प्रयोग गरेका नयाँ बान्की र नयाँ पनले उचाइ दिए झैँ लाग्छ,’ उनले भने।

काली–कर्णालीमा गाइने गीतमा त्यो समयमा स्थायी र अन्तरा छुट्टिने नभए पनि उनले राईझुमामा त्यसको प्रयोग गरे। तत्कालीन अवस्थामा काली–कर्णाली क्षेत्रमा गाइने गीतमा मादलको ताल पनि प्रयोग हुन्थेन। देउडा डेढ स्टेपमा खुट्टाको चाल मिलाएर गोलाकारमा गाउँदै खेलिन्थ्यो। तर, उपाध्यायको पुस्ताले गीत रेकर्ड गर्दा तालबद्ध गर्‍यो। राईझुमामा स्थायी र अन्तरा छुट्याएर नयाँ बान्किला साथ गाउँदा सबैले रुचाएको उनको भनाइ छ।

इतिहास बोकेको काली–कर्णालीको लोक साहित्य तथा संस्कृति ग्रन्थ

उपाध्यायले काली–कर्णालीको लोक साहित्यलाई अग्रभागमा राखेर ‘काली–कर्णालीको लोक साहित्य’ ग्रन्थ बजारमा ल्याएका छन्। २०३४ सालमा पूर्णप्रकाश नेपाल ‘यात्री’ अछाम गएका थिए। उनले पनि उपाध्यायलाई त्यहाँको लोक साहित्यका बारेमा लेख्न प्रेरणा प्रदान गरेका थिए। २०४९ सालमा जनकविकेशरी धर्मराज थापासँग उनको भेट भएको थियो। जनकविकेशरी थापा २०१५ सालमा काली–कर्णालीको भ्रमणमा गएका थिए। उनले पनि उपाध्यायलाई काली–कर्णाली क्षेत्रका बारेमा लेख्न प्रेरित गरेका थिए। २०५५ सालतिरदेखि काली–कर्णालीको लोक साहित्यका अध्येयता रामबहादुर रावलले पनि यस विषयमा झकझक्याइरहेका थिए। वरिष्ठ संस्कृतविद् सत्यमोहन जोशीले पनि उपाध्यायलाई काली–कर्णालीको लोक साहित्यका बारेमा तपाईंले लेख्नुपर्छ है भनेर प्रेरित गरिरहेका हुन्थे। यी र यस्तै व्यक्तिको प्रेरणाले यो कृतिको जन्म भएको उपाध्यायलाई लाग्छ।

‘काली–कर्णाली क्षेत्र लोकसाहित्यको विराट महासागर जस्तै भूमि हो। यहाँ सयौं किसिमका विधागत विशेषताहरू छरपस्ट छरिएर बसेका छन्। तिनीहरूको संकलन र संरक्षणका लागि आउनु पर्ने ग्रन्थको अभाव भएको मैले महसुस गरिरहेको थिएँ। त्यसैले एउटै ग्रन्थमा धेरै विधाको अध्ययन गर्न मिल्ने ग्रन्थ ल्याउन पाए हुन्थ्यो भन्ने मलाई लागेको थियो। राईझुमाले पनि मलाई प्रेरणा प्रदान गरेको थियो। राईझुमाले त्यो पुरै क्षेत्रलाई समेटेर सबैको साझा गीत बन्नपुग्यो। त्यसै गरी त्यहाँका सबै लोकसाहित्य र संस्कृतिका विधा तथा विषयलाई समेटेर विषत ग्रन्थ ल्याउन पाएको भए त्यसले काली–कर्णालीलाई चिनाउने थियो भन्ने मनमा थियो नै। त्यसैले यो कृतिको जन्म भएको हो,’ उनले भने। पुस्तकमा सङ्ग्रहित विषयवस्तु २०५५ सालदेखि संकलन गर्न थालिएको उपाध्याय बताउँछन्।

कार्यक्रममा जाँदा होस् वा कुनै भ्रमणमा उपाध्याय सुदूरका विभिन्न गाउँवस्तीका कला, संस्कृतिलाई टपक्क टिपेर डायरीमा राख्थे। ती क्षेत्रका कला, संस्कृति र सामाजिक परिबेसका जानकारहरूसँग संवाद गर्थे। उनी यसरी नै पुस्तकको तयारीमा भित्रभित्रै जुटिरहेका थिए। उनी २०६७ सालमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भए। त्यस क्रममा पनि उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दै सामग्री संकलन गर्ने सौभाग्य प्राप्त गरे। आफू पुग्न नसेका ठाउँका बारेमा फोन र चिठ्ठिपत्रमार्फत जानकारी लिए। विभिन्न दायीत्वलाई पुरा गर्ने क्रममा संकलिन सामग्रीलाई पुस्तकाकृति दिने समयको उनीसँग अभाव थियो। उनी उपयुक्त समयको प्रतीक्षामा थिए। कोरोना महामारीपछिको लकडाउनलाई उनले सदुपयोग गर्दै दृढ संकल्पका साथ कृतिलाई पूर्णता दिए। उपाध्याय कृति तयार गर्दा राति दुई÷तीन घण्टामात्र सुतेको बताउँछन्। त्यसरी लेख्दा तीन वर्ष समय लागेको उनी स्मरण गर्छन्। उनी यो कृतिलाई पूर्णता दिन २५ वर्ष समय लागेको बताउँछन्।

बुकहिलले पुस्तकलाई बजारमा ल्याएको हो। पुस्तक ९८४ पृष्ठको रहेको छ। पुस्तकमा काली–कर्णाली क्षेत्रका लोक साहित्यका सबै विधागत विषय समेटिएका छन्। लोकगीत, लोककथा, लोकगाथा, उखान, टुक्कालगायत सबै विषय समावेश भएका छन्। फाग, मागल, धमारी, चाँचरी, हुड्केउली, भुवो, रनपुतला, होरी, गौरा, अठवाली, भोलाउलो, ठाडो खेल, चैत जस्ता ६० वटा प्रमुख विधा, त्यसका उपविधा र त्यसमा गाइने गीतहरू पुस्तकमा समाविष्ट रहेका छन्। जुन शीर्षकबाट पढ्यो त्यहीबाट नयाँ विषयको उठान र पूर्ण जानकारी प्रदान गर्नेगरी उपाध्यायले पुस्तकलाई तयार पारेका छन्। उनले गीतमा भन्न खोजिएको विषयको संक्षिप्त चर्चा पनि गरेका छन्। सबै चाडपर्वमा गाइने गीत र खेलिने खेलका विषयमा पनि चर्चा गरेका छन्। कसरी गाइन्छ?, कसरी खेलिन्छ?, कस्तो भेसभुसा प्रयोग हुन्छ? लगायत विषय उनले पुस्तकमा समावेश गरेका छन्। काली–कर्णाली क्षेत्रमा मनाइने चाडपर्वका विषय पनि उनले यसमा समावेश गरेका छन्। त्यस क्षेत्रमा बजाइने बाजाहरूको पनि सचित्र वर्णन गरिएको छ। पुस्तकमा थारु समुदायका लोक नृत्य र चाडपर्वका बारेमा पनि संक्षिप्त वर्णन गरिएको छ। दार्चुला जिल्लामा रहेको व्यासी सौका समुदायका चाडपर्व र संस्कृतिको व्याख्या पनि पुस्तकमा छ। काली–कर्णालीका गाली–बोली, लोकमन्त्र लगायत सम्पूर्ण विषय यसमा समावेश गरिएको उपाध्यायले बताए।

‘हिजोसम्म विद्वानहरूले लोकगायन परम्पराको विकास क्रमलाई प्राचीन काल, मध्यकाल र आधुनिक काल भनेर तीन कालमा विभाजन गरिएको थियो। २०४६ पछि नयाँ प्रविधिले फड्को मारेको छ। यसलाई मैले अत्याधुनिक काल भनेर चौथोकालका रूपमा राखेको छु,’ उनले भने, ‘लोकगीतहरूमा लोकगीतका तत्त्वहरू पनि क्रियाशील र सहयोगी भनेर विद्वानहरूले राख्नु भएको थियो। तर, अहिले ती सामान्य रूपमा देखा परेका तत्त्वहरू पूर्णरुपमा सक्रिय भए। त्यसैले मैले ती कुरा पनि यसमा समावेश गरेको छु।’ हिजोका दिनमा लोकगीतको सर्जक हुँदैन भन्ने मान्यता रहेकोमा अहिले प्रविधिले रचनाकार को हो? भनेर तुरुन्तै पत्ता लाग्छ। त्यसैले उनले मौलिक लोकगीत र सिर्जनात्मक लोकगीत भनेर पुस्तकमा चर्चा गरेका छन्। उनले पुस्तकको लोकार्पण पनि २०८० मंसिर ३० गते सांस्कृतिक रूपमै गरेका थिए।

उपाध्याय लोक साहित्यका अथक योद्धा हुन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्ने विभिन्न महोत्सवमा संयोजकको भूमिका निर्वाह गरिसकेका उपाध्याय सधैँ लोक साहित्य र संस्कृतिकै उन्नयनमा सक्रिय देखिन्छन्। उनी लोक साहित्यको विकास र विस्तारमै सक्रिय भइरहेका हुन्छन्। टुँडिखेलमा गौरामा पर्व कार्यक्रम आयोजना गर्न होस् वा अन्य कुनै काली–कर्णाली क्षेत्रका सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, जहाँ पनि उनी प्रमुख नेतृत्वदायी भूमिकामा रहन्छन्। उनको सक्रियताले सुदूर र कर्णालीको लोक साहित्य काठमाडौंसम्म फैलिएको छ। देश–विदेशले खोज्न थालेको छ।

उपाध्याय भाषा, साहित्य, कला, संस्कृतिसँगै आफ्नो माटोलाई प्रेम गर्छन्। त्यसैले त उनी यही माटोमा रहेका कला, संस्कृतिको जगेर्ना गर्दै अन्तर्राष्ट्रियकरण गर्न सक्रिय छन्। उनी कसैसँग नराम्रो बोल्दैनन्। कसैको चित्त दुखाउनु जीवनको व्यर्थताझैँ लाग्छ उनलाई। त्यसैले त सबैमाझ उनी मृदुभाषी व्यक्तिका रूपमा परिचित छन्। उनको मिलनसार बानीलाई सबैले रुचाउँछन्। न घमण्ड, न आदर्शको थुप्रो। उपाध्यायलाई सफाट मनका धनी भन्दा फरक नपर्ला। हाल काठमाडौं–१० बुद्धनगरमा बस्दै आएका त्यस्ता साहित्यका अथक योद्धा उपाध्यायले आगामी दिन पनि यसरी नै यही क्षेत्रमा सक्रियतापूर्वक बिताउने बताएका छन्।


यस्तो छ उपाध्यायको चिनारी

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १४:२०   :  बजे

639
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।