काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको छ।
असार १२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा बालाजु शाखा प्रमुख मदन खतिवडालगायतको उपस्थिति थियो।
सामग्री ग्रहण गर्दै अतिरिक्त महानिरीक्षक ठाडा मगरले प्राप्त सहयोगले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्न तथा कठिन परिस्थितिमा नागरिकको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सहयोगका लागि कम्पनीलाई धन्यवाद पनि दिए।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत फुयालले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रपंक्तिमा खटिने सुरक्षा निकाय भएको उल्लेख गरे।
बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै उनले विपद्पछिको राहत मात्र होइन, पूर्वतयारीलाई पनि सुदृढ बनाउन सहयोग गर्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको बताए।
सन नेपाल लाइफले हाल देशभर १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले शिक्षा, स्वास्थ्य तथा जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।




















प्रतिक्रिया