काठमाडौं । गरिमा विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले बीमा कम्पनी खोल्ने नाममा उठाएको पैसा दुरुपयोग गरेको खुलेको छ । विकास बैंकले बीमा कम्पनी खोल्न ०७८ असोजमा लगानी गर्न इच्छुकहरुसँग प्रस्ताव आह्वान गरेको थियो ।
श्रेष्ठ आफै संयोजक बसेर बीमा कम्पनी स्थापना विशेष समिति नै गठन गरेका थिए । समितिमा बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डे, निवर्तमान अध्यक्ष चन्द्रकान्त बराल, प्रथम/पूर्व संचालक रमाकान्त बराल र संस्थापक सेयरधनी निलकण्ठ काफ्ले सदस्य तथा पूर्व अध्यक्ष दिलिप प्रताप खाँण प्रमुख सल्लाहकार छन् ।
०७८ माघ ३० गते पोखरामा भएको १४औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा संस्थापक सेयरधनीहरूले बैंकको संस्थापक अध्यक्ष जलेश्वर पाण्डेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । सोही अध्ययनपछि गरिमा विकास बैंकको सञ्चालक समितिले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।
कति उठाइएको थियो पैसा ?
प्रस्तावित गरिमा जनरल इन्स्योरेन्स कम्पनीको तत्कालको जारी तथा चुक्ता पूँजी २ अर्ब तोकिएको थियो । सो पूँजीको ७० प्रतिशतले हुन आउने एक अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयर पूँजी कायम गरिएको थियो । बैंकले आवश्यक प्रकृया अगाडी बढाउने भन्दै प्रतिवद्धता व्यक्त गर्नेहरूसँग केहि रकम पनि उठाएको स्रोतले जानकारी दिएको छ ।
लगानी गर्न तयार रहेकाबाट कुल रकमको २ प्रतिशत रकम प्रतिवद्धता शुल्कको रुपमा लिइएको थियो । जसमध्ये ५० प्रतिशत अर्थात कल लगानीको एक प्रतिशत रकम प्रतिवद्धता गर्दा बुझाइएको थियो । बाँकी रकम बीमा प्राधिकरणले इजाजतपत्र का लागि आवेदन आह्वान गर्दा बखत माग गर्ने योजनामा समिति थियो ।
अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल हुँदा जीवन तथा निर्जीवन बीमा कम्पनी स्थापना गर्ने भन्दै उनीहरूले आन्तरिक तयारी गरेका थिए । तर, पौडेलले हिमालयन रि इन्स्योरेन्स बाहेक अन्य कम्पनीहरुलाई लाइसेन्स दिन सकेनन्।
यसरी गरियो दुरुपयोग
बीमा कम्पनी खोल्ने भएपछि गरिमा विकास बैंकका सञ्चालक डा. श्रेष्ठ र अन्य व्यक्ति समेतको नाममा संयुक्त खाता खोलियो । सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गरिएको राष्ट्र बैंकको सुपरीवेक्षण विभाले जानकारी दिएको छ ।
यो खाताबाट विभिन्न चरणमा खर्च भएको प्रतिवेदनमा खुलेको छ । तर बैंकबाट ती कारोबारहरूको अनुगमन नभएको देखिएकोले संस्थाको संस्थागत सुशासन र संचालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको विभागको ठहर छ ।
यति पत्ता लगाएपछि राष्ट्र बैंकले डा. श्रेष्ठलाई सचेत मात्रै गराएको छ । कारोबारको पर्याप्त अनुगमन नभएकोले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।




















प्रतिक्रिया