काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक स्थितिमा रहेको बताएका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको बताए ।
‘काम गर्ने कुरा, कुरा गरेको जस्तो हुन्न । आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न,’ महतले भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो । बजेट व्यवस्थापनमा चुनौती भने छन् ।’
बजेट पद्दतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उनले बताए । ‘सूचक सकारात्मक बन्दै गए पनि लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ,’ उनले भने ।
अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’
यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको उनको भनाई छ । ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो,’ उनले भने, ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’ जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनको विश्लेषण छ । यद्यपि, पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको र यसको मुख्य कारण ब्याजदर घट्नु नै रहेको अर्थमन्त्रीको भनाई छ ।
प्रतिक्रिया