सिन्धुली । तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै बिजुली बत्तीले झलमल्ल भएको छ ।
वडा नं. ७ को तोस्राम खोला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि गाउँपालिकाका ११ वटै वडामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार गाउँपालिकाका करिब आठ हजार घरधुरीमध्ये ९० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती पुगेको छ । बाँकी १० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पुर्याउने लक्ष्यसहित धमाधम काम भइरहेको उनले जानकारी दिए ।
टुकी बत्ती, सौर्य बत्ती, लालटिनको सहाराले दैनिक जीवन बिताउँदै आएका तीनपाटनवासी गाउँ बिजुलीले उज्यालो हुँदा उत्साहित बनेका छन् ।
सिन्धुलीको कुल ५७ हजार ५८१ घरधुरीमध्ये हालसम्म करिब ५५ हजार घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जोडिएको प्राधिकरणको सिन्धुली वितरण शाखाले जनाएको छ ।
उक्त शाखाका प्राविधिक लालबहादुर लामाले पूरै सिन्धुली जिल्लालाई दुई वर्षभित्र उज्यालो बनाउने लक्ष्य राखी शाखाले विद्युत् विस्तारको काम गरिरहेको बताए । उनले भने, “विद्युत् विस्तार गर्न बाँकी गोलन्जोर गाउँपालिका र दुधौली नगरपालिका–१२, १३ र १४ मा केन्द्रीय योजना अन्तर्गत छुट्टै ६५ करोड रुपियाँको दुईवर्षे आयोजनाको काम भइरहेको छ ।” बाँकी भागमा विद्युत् विस्तार गर्न शाखालाई यो वर्ष २८ करोड पाँच लाख रुपियाँ बजेट प्राप्त भई टेन्डर भइसकेको शाखाका प्राविधिक लामाले जानकारी दिए ।




















प्रतिक्रिया