Logo

अर्थ

आत्तिएका बचतकर्ताले पैसा झिक्न थालेपछि एनआइसी एसिया बैंक थप अप्ठेरोमा



काठमाडौं- एनआइसी एशिया बैंक निरन्तर ओरालो गतीमा लाग्न थालेपछि बचतकर्ता आत्तिएका छन्। आत्तिएका बचतकर्ताले एनआइसी एसिया बैंकबाट आफ्नो निक्षेप रकम निकाल्ने क्रम बढेको छ।

बैंकबारे विभिन्न हल्ला सुनिन थालेपछि आफ्नो बचत रकम डुब्ने हो कि भन्दै आत्तिएर एनआइसी एसिया बैंकबाट आफ्नो पैसा निकाल्न थालेका हुन्। बैंकबाट एक महिनामै निक्षेपकर्ताले १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्।

अन्य बाणिज्य बैंकको निक्षेप बढ्दा एनआइसीको भने घटेको छ। निक्षेपकर्ताले आफ्नो रकम असुरक्षित भएको महसुस गर्न थालेपछि अन्यत्र बैंकमा सार्न थालेका हुन्।

विभिन्न माध्यमबाट बैंकले राष्ट्र बैंकको नियम नमानेको, राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको एक उच्च अधिकारीले राजिनामा दिएको, रास्ट्र बैंकमा गलत विवरण पेस गरेको, कर्जा प्रबाह गर्दा नियम उल्लङ्घन गरेको विषय बाहिरिएपछि निक्षेपकर्ता आत्तिएका हुन्।

त्यस्तै बैंकले ५० शाखा बन्द गर्न राष्ट्र बैंकमा निबेदन दिएको खबर बाहिरिएपछि त बैंकको थप साख गिरेको छ।

बैंकको साउनमा ३११ अर्ब, भदौमा ३४७ अर्ब, असोजमा ३६४ अर्ब , कात्तिकमा ३७६ अर्ब, मंसिरमा ३८० अर्ब, पुसमा ३८१ अर्ब निक्षेप पुगेको थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोड निक्षेप रहेको देखिन्छ। यसरी हेर्दा पुषसम्म यस बैंकमा बचत गर्ने बढीरहेका थिए तर माघमा भने निक्षेप राख्ने भन्दा पनि पहिले आफूले राखेको निक्षेप निकाल्न थालेको देखिन्छ।

निक्षेपकर्ताले एक महिनामै १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्।

चालू आवको ७ महिने अवधिमा पहिलो पटक एनआईसी एसियाको निक्षेप यती धेरै घटेको हो।

व्यापार नभएका कारण यतिबेला एनआइसी एशिया बैंकका शाखाहरू धमाधम बन्द हुन थालिएका छन्। काठमाडौं उपत्यकाको प्रत्येक १ किलोमिटर दूरीमा एक शाखा वा एक एटिएमको रणनीति अनुसार सञ्जाल विस्तार गरेको एनआइसी एशियाका लागि अहिले सञ्चालन गर्न धान्न धौ-धौ भइरहेको छ।

बैंकले ६ दिनअघि मात्र ४ वटा काउण्टर बन्द गरेको छ। शाखा रहित बैंकिङ अवधारणाअन्तर्गत सिराहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका-७ नम्बर वडा गोरखाको सिउरिनीटार झापाको बुद्धशान्तिक गाउँपालिका वडा नम्बर ६ बाट दिँदै आएको बैंकिङ सेवा बन्द गरेको हो।

यसैगरी गत जेठ महिनायता बैंकले ३० वटा शाखा रहित बैंकिङ काउण्टरहरु बन्द गरि सकेको छ। जेठ १८ मा १६ वटा साउन ४ मा ४ वटा कात्तिक २४ मा ६ वटा र पछिल्लो समयमा माघ २९ गते थप ४ वटा काउण्टर बन्द गरेको हो।

फागुन पहिलो सातामा आइपुग्दा यो बैंकसँग जम्मा ४७ वटा शाखा रहित बैंकिङ सेवा काउण्टर बाँकी छन्। बैंकले माघ २९ गते प्रकाशन गरेको प्रेस विज्ञप्तीमा ३६० शाखा र ११५ वटा विस्तारित काउण्टर सञ्चालनमा रहेको उल्लेख छ।

आर्थिक गतिविधि बढी हुने काठमाडौं उपत्यकाभित्रका शाखाहरु तत्कालै बन्द नगरे पनि मर्ज गर्ने वा अन्यत्र सार्ने वा घरबहाल घटाउन लगाउने, कर्मचारी निष्काशन गर्ने रणनीति अपनाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ०८:२२   :  बजे

306
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।