काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा भएको म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताए।
सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकांक्षा र संविधानले दिशानिर्देश गरेअनुसारका काम गर्ने भएकाले एक–अर्कालाई आरोप लगाउनु गलत भएको बताए। पुनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए।
राष्ट्र बैंकको काम राजनीतिक नेतृत्वको भिजनलाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्नु रहेको मन्त्री पुनले स्पष्ट पारे। पुनले हाल बजारमा पर्याप्त तरलता (लगानी योग्य रकम) भएकाले विगतमा ल्याइएका कठोर नीतिमा लचकता अपनाउन राष्ट्र बैंक नेतृत्वलाई आग्रहसमेत गरे।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रले जनविश्वास कायम गर्ने गरी कार्य गर्नुपर्ने बताए। साना खराब कामले संस्थालाई असर गर्ने भएकाले सचेत भएर काम गर्न उनले बैंकहरूलाई आग्रह गरे। नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समयमा बैंकिङ क्षेत्रका बारेमा विभिन्न टीकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठीक रहेको बताए।




















प्रतिक्रिया