Logo

प्रमुख समाचार

भारतीय विदेशमन्त्रीले भने- नेपालले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन



काठमाडौं । नेपाल सरकारले १ सय रुपैयाँको नेपाली नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे प्रतिक्रिया जनाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

विदेशमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुने पनि स्पष्ट पारे । ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ,’ भुवनेश्वरमा आयोजित कार्यक्रममा उनले भने, ‘अर्कोतर्फ गरिएको निर्णयले उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्वीर राख्ने निर्णय गरको थियो ।

नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो । भारतले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार  १० : ४६ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।