बाँके । जडीबुटी निकासीको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ।
विभिन्न समस्या र अवरोधका बाबजुद चालू आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु. ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ।
जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा रु. ७० करोडको जडीबुटी निकासी गर्न सफल भएका छन्।
नेपाली जडीबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने संकेत देखिन थालेको अध्यक्ष शर्माले बताए।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालू आव ०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट रु. ७० करोड ६२ लाख ३५ हजार मूल्यबराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको छ। गत आव ०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट रु. ७० करोड ९६ लाख १० हजार मूल्यको जडीबुटी निकासी भएको थियो।
कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । नेपालगन्ज हुँदै भारतलगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ। औषधि, साबुन, स्याम्पुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बंगलादेशजस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ।
कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन्। तर, निकासीका क्रममा जडीबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट व्यहोर्नुपरेकाले समस्या हुँदै आएको जडीबुटी व्यवसायी संघका अध्यक्ष शर्माले बताए।
प्रतिक्रिया