Logo

अन्तर्राष्ट्रिय

जापानी विदेशमन्त्री योकोले भेटिन् राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्री, आजै राति फर्कने



काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योकोले आएकै दिन नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी विदेशमन्त्री योकोले आज शिष्टाचार भेट गरेकी हुन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा गम्भीर हुन आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र जापानबीच आगामी दिनहरूमा आर्थिक सहयोग लगायत अन्य सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गरेका थिए  ।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएकी थिइन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि जापानी विदेशमन्त्री योकोले भेटवार्ता गरेकी छिन् । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्रीसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन भ्रमण गरेकी थिइन् ।  त्यहाँ उनले कालभैरव, हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरेकी थिइन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि योकोले भेटघाटवार्ता गरेकी छिन् ।

परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।

भेटवार्तामा नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएकाे छ ।

जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी भने भएन ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रीभोजको आयोजना गर्दैछन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार  ७ : ४९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।