Logo

अर्थ

ग्लोबल आइएमइ बैंक र बडिमालिका नगरबीच कर्जा सहजीकरण गर्ने सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बाजुराको बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासीहरुलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।

कर्जाले नगरपालिका भित्र उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धन हुने भन्दै यो सम्झौता गरिएको बैंकका सीइओ पोखरेलले बताए ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार २०:१५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।