Logo

प्रमुख समाचार

रविको प्रश्न – उजुरी वाजुरी दर्ता नै नभएको मान्छेको नाममा समिति बनाउनुपर्ने ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले उजुरी या अभियोजन नै दर्ता नभएको मान्छेमाथि समिति बनाउनुपर्ने आवश्यकता नभएको बताएका छन् ।

सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कहीकतै अभियोजन र आरोप प्रमाणित नभएको अवस्थामा संसदीय छानबिन समिति बनाउन आवश्यक नभएको बताएका हुन् । उनले आफूमाथि उठेका प्रश्नको जवाफ संसदबाट आफू दिन तयार रहेको भन्दै कहीँ कतै बयानमा नपोलिएको र समिति बनाउनुपर्ने कुनै आधार नभएको बताए ।

‘सम्मानित अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरिसकेको मानिस सदनमा आउने । अनि कहीँ कतै अभियोजन नभएको, आरोप प्रमाणित नभएको, उजुरी वाजुरी दर्ता नै नभएको मान्छेको नाममा समिति बनाउनुपर्ने ? यही हो हाम्रो नजिर र संसदीय मर्यादा ?’, लामिछानेको प्रश्न छ ।

उनले सामाजिक सञ्जाल र मिडियामा कुरा चलेकै भरमा आफूलाई थुन्नेगरी समिति गठनको कुरा गरिएको आशंका गरे । उनले भने, ‘एकैपटक मान्छेलाई थुनेर डामडुम गरेर कहीँ बोल्नै नदिने, सफाइको मौका त मृत्युदण्ड वा फासीमा झुण्ड्याएको मान्छेले पनि पाउँछ होला नि त ?’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ०८:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।