काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काम नगरेर हल्ला मात्रै गरेर हिँडेको आरोप लाए ।
शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता शाहीले निर्मला हत्या प्रकरण ७२ घण्टाभित्र पत्ता लगाउँछु भन्ने गृहमन्त्री लामिछानेले ७२ दिन बित्नै लाग्दा पनि कुनै चासो नदेखाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु–कलम तपाईँको हातमा छ, प्रहरी प्रशासन तपाईँको हातमा छ । ठुला–ठुला फाइल ड्यामड्याम खोलौँ । झ्यापझ्याप पक्राउ गरेर जेल हालिहालौँ । गृहमन्त्रीको साथमा हामी हुन्छौँ । हल्ला मात्रै गर्ने र काम नगर्ने हो भने हामी साथ दिन सक्दैनौँ,’ उनले भने ।
गृहमन्त्री लामिछानेले मिडियामा भजाउने, दुई चार जना युट्युबरतलाई लिएर मात्रै हिँडेको उनले टिप्पणी गरे । नेता शाहीले गृहमन्त्रीले नयाँको नाममा पुराना दलका कामै नलाग्ने मान्छे ल्याएर पार्टी चलाएको बताए । ‘गृहमन्त्रीले फेरि एउटा अचम्मको पसल खोल्नुभएको छ,’ उनले भने, ‘पुराना पार्टीमा काम नलागेका मान्छे ल्याएर भर्ती गर्ने अनि तिनलाई नयाँ भन्दिनुपर्ने हामीले ।’
गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यतिखेरको सरकारले भगायो भनेर अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न सुझाव दिए । त्यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया