Logo

अर्थ

बैंकहरूले जेठका लागि घटाए ब्याजदर, कुनको कति?

९ बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिने, ८ बैंकले घटाए र दुई बैंकले बढाए



काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूकाे ब्याजदर सामान्य घटेको छ ।

वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा औसतमा ७.१४ प्रतिशत ब्याज दिइरहेका १९ बैंकहरुले जेठ महिनामा औसतमा ७.०६ प्रतिशतका दरले ब्याज दिने भएका छन् । यो वैशाखको तुलनामा ०.०७ प्रतिशतले कम हो ।

सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ९ बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई निरन्तरता दिने भएका छन् ।

त्यस्तै, ८ बैंकले ब्याजदर घटाएका छन् । एभरेष्ट बैंक, नबिल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, प्राइम बैंक र एसबीआई बैंकले ब्याजदर घटाएका छन् । ग्लोबल आईएमई र एनआईसी एसिया बैंकले भने ब्याजदर बढाएका छन् ।

जेठ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । यी दुवै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७.८ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।

सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १२:००   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।