Logo

अर्थ

मौद्रिक नीतिको समिक्षा : घर र गाडी किन्न तथा चाँदी आयातमा सहुलियत दिइयाे



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले शुक्रबार समीक्षा गर्दै सवारी कर्जा र असल कर्जा जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक सेयर बिक्रीमा सहुलियत दिएको छ ।

घर र गाडी किन्न केन्द्रीय बैंकले सजिलो बनाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गर्ने बताएको छ ।

यस्तै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने भएको हो ।

‘आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको छ’, समिक्षामा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ ।

यस्तै राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने नोक्सानी व्यवस्था (प्रोभिजन) घटाएको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १६:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।