काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवी लामिछानेको राजीनामा माग्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा विरोध प्रदर्शन गरेको छ ।
आज दिउँसो संघले गृहमन्त्रीको राजीनामा माग्दै सडकमा बिरोध प्रदर्शन गरेका हुन् । सहकारीको रकम अपचलन गरेको भनेर आरोप लागेका गृहन्त्री रवी लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेको कांग्रेसले संसद चल्न दिएको छैन । आज सत्तापक्ष र प्रतिपक्षको बैठकबाट संसद सुरु गर्ने बताए पनि अहिलेसम्म संसद सुरू हुन सकेको छैन् ।
आज बिहान भएको सत्तापक्ष र प्रतिपक्षबीचको बैठकले सरकाले सहकारी समस्याबारेमा अध्ययनका लागि गठन गर्ने भनेको संसदीय छानबिन समितिको कार्यविधि (टीओआर) बनाउने विषयमा पनि पार्टीहरु निष्कर्षमा पुग्न सकेका छैनन् । गृहमन्त्री रवी लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउने सहमति भएको भनिए पनि कांग्रेसले आफ्ना अडान अझै कडा बनाउँदा टीआरसी बनाउन ढिलाई भइरहेको छ ।
आइतबार सिंहदरबारमा कानुनमन्त्री पदम गिरीसहित सत्ता पक्ष र विपक्षी दलका प्रतिनिधिबीच संसदीय छानबिन समितिको कार्यविधि बनाउनेबारे छलफल भएपनि सहमति जुटेन । बैठकमा कांग्रेसका प्रतिनिधिले पार्टीमा छलफल गर्ने भन्दै समय मागेको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भने– ‘कांग्रेसका साथीहरुले २० मिनेट पार्टीमा छलफल गर्नुपर्यो भन्नुभएको छ, विशेषगरी हामीले छानबिन समितिको कार्यविधिको विषय के हुने भन्ने बारेमा कुरा गरेका छौँ । हामी धेरै टाढा पनि छैनौँ, एकाध विषयमा कांग्रेसका केही आफ्ना भनाइहरू छन्, हामीले समग्र सहकारीहरूको समस्या पनि समाधान होस्, संसदीय समिति सांसदहरूको संलग्नतामा बन्ने हो, त्यसले अनुसन्धान अधिकारीका रूपमा कत्तिको काम गर्न सक्छ, त्यसको बारेमा पनि याद गर्नुपर्छ । कानुनी, नीतिगत पक्षमा कसरी यसले बढीभन्दा बढी लाभ पुग्ने गरी काम गर्न सक्छ भन्ने सैद्धान्तिक सहमति भएको छ, विषयगत रूपमा बुँदागत रूपमा टुङ्ग्याउनका लागि केही समय माग्नुभएको छ ।’
कांग्रेसले समय मागेकोले दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रभावित भएको छ । उता कांग्रेसको भातृ संगठन सडकमा आएपछि यो विषय अझै पेचिलो भएको छ ।
तस्बिरहरु :
प्रतिक्रिया