Logo

अर्थ

दैनिक ४ सय मेगावाट बिजुली भारत निर्यात



काठमाडौं । नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ ।

वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए ।

‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ७/८ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४/साढे ४ करोड युनिट पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

द्विपक्षीय सम्झौता बमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे ।

विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा बिद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ ।

६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार  २ : १८ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।