काठमाडौं । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । विगत १४ वर्षदेखि लागु गरिएको सुनको सिण्डीकेट र हाल सुनमा लगाइएको अव्यवहारिक भन्सार वृद्धिकोविरुद्ध संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार माइतीघर विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ ।
‘सुनमा लगाएको सिण्डीकेट तुरुन्त खारेज गर, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री निति-निर्देशिका, ऐन तुरुन्त लागु गर’ भन्ने मागसहित प्रर्दशन गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भन्सार दर फिर्ता गर्नुपर्ने र सुन आयातमा लगाइँदै आएको दैनिक २० केजी कोटाको व्यवस्था खारेज गर्नुपर्ने बताए । यी दुई माग राखेर व्यवसायी आन्दोलनमा होमिएको उनको भनाइ छ ।
प्रतिक्रिया