Logo

राजनीति

महिला मन्त्री चौधरी र इजरायली राजदूतबीच शिष्टाचार भेट, विपिनको रिहाइबारे छलफल



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ ।

आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन् ।

इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गरिन् । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताइन् ।

यसैबीच भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिलिज हुने विश्वास व्यक्त गरे । गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको समेत बताए ।

नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उनले अवसरको हिसाबमा पनि धेरै अवसरहरूका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जम्मा केयर गिभरमध्ये ७० प्रतिशत महिला केयर गिभर रहेको बताउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  १ : ३६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।