Logo

गण्डकी प्रदेश

‘फ्लोर क्रस’ हुँदा गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



पोखरा । माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् । उनले सोमबार मुख्यमन्त्री पाण्डेले संसदमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८ मत परेको छ ।

पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।

यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो । देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका छन् । उनकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको छ ।

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो भने सोहीअनुसार उनले मत पाए । देवकोटा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न गएपछि एमाले र माओवादीका सांसदले नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १७:०१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।