काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवा स्वरोजगार तथा कृषि क्षेत्रमा प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान दुरुपयोग नभएको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जाको ब्याजदर दुरुपयोग भएको हल्ला गरिए पनि त्यसो नभएको उनले दाबी गरे ।
‘देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको छ । केही साना कुरा व्यवस्थापनमा समस्या आउँदा र लगानीसँगै प्रतिफलको निश्चितता नहुँदा युवा शक्ति विदेश पलायन भइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत थप युवा सशक्तीकरण र रोजगारीका कार्यक्रम ल्याउँछ’ गभर्नर अधिकारीले भने ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने बताए । सोही अवसरमा गभर्नर अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन रोकिने बताए ।
सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान बाँडिएको पनि गभर्नर अधिकारीले दाबी गरे ।
हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको गभर्नर अधिकारीको भनाइ छ ।




















प्रतिक्रिया