Logo

टिप्पणी

नौ वर्षपछि माओवादी प्रतिपक्षको भूमिकामा



काठमाडौँ । लगातार १८ महिना सत्ताको नेतृत्व लिएपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा धकेलिएको छ । संसदमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पार्टी प्रमुख प्रतिपक्षमा पुगेको हो ।

कांग्रेसलगायतका दलसँगको चुनावी गठबन्धनबाट ३२ सिट जितेर आएको माओवादी केन्द्रका प्रचण्ड १० पुस २०७९ मा एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि निरन्तर सरकारको नेतृत्वमा थिए ।

प्रचण्डलाई पहिलो खेप प्रधानमन्त्री दिन नमान्दा सत्ताबाट बाहिरिएको कांग्रेस २६ पुसमा उनै प्रचण्डलाई विश्वासको मत दिएर फागुनमा राष्ट्रपतिको निर्वाचनपछि सत्तारोहणमा पुगेको थियो ।

त्यतिबेला कांग्रेसलेसमेत विश्वासको मत दिएपछि प्रचण्डलाई झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त भएको थियो । त्यतिबेला संसदको अभूतपूर्व समर्थन पाएपछि प्रचण्ड हौसिएका थिए ।

प्रधानमन्त्रीका रूपमा झण्डै शतप्रतिशत मत पाएको १८ महिनामा प्रचण्ड विश्वासको मत गुमाएर प्रधानमन्त्रीबाट बिदा भएका छन् । पहिलोपटक २६ पुसमा संसदबाट २ सय ६८ मत पाएका प्रचण्डले त्यसपछि राष्ट्रपतिको निर्वाचनताका एमालेको साथ गुमाएका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि ५ चैतमा विश्वासको मत लिँदा उनले १ सय ७२ मत पाएका थिए । त्यसपछि तेस्रोपटक ३० फागुन र चौथौपटक ७ जेठमा उनले १ सय ५७ मत पाएका थिए ।

पाँचौँपटक उनले २८ असारमा विश्वासको मत लिँदा उनी सरकारबाट बाहिरिनु परेको थियो । उनले मात्र मत पाए । प्रचण्डको अस्थिर चरित्रबाट पालैपालो धोका खाएका संसदका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि तेस्रो दल माओवादी केन्द्र ९ वर्षपछि प्रतिपक्षमा धकेलिएको हो ।

२०७२ सालमा संविधान जारी भएपछि माओवादी निरन्तर सत्तामा रहिरहेको थियो । नौ वर्षपछि पहिलो पटक सरकारबाट बाहिरिएको माओवादीले अब प्रतिपक्षको भूमिका कसरी निभाउला चासोको विषय बनेको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १८:०४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।