संघीय संसदका सदस्यहरुका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
संघीय संसदको आयोजना र राष्ट्रिय बाणिज्य बैंक लगायतको सहकार्यक्रममा प्रतिनिधीसभा र राष्ट्रिय सभाका सदस्यहरुका लागि वित्तिय साक्षरता सञ्चालन गरिएको छ ।
उक्त अवसरमा बैकिङ्गलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा मात्र नबुझि सबैका लागि वित्तीय साक्षरता बढाउनुपर्ने कुरामा जोड दिइएको थियो ।
सानो उमेरदेखि नै वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने, रेमिट्यान्स सही तवरले भित्र्याउने, हुन्डी भनेको गलत हो भनेर सिकाउने लगायत कुराहरु सवैलाई जानकारी गराउन आवश्यक भएको कुरा उठाइएको थियो ।
उक्त अवसरमा बोल्दै उपसभामुख इन्दिरा रानाले वित्तिय साक्षरतालाई अब उच्च माध्यामिक तहको शिक्षामा जोडेर लैजान आवश्यक रहेको बताइन् । उनले वित्तिय साक्षरताको कमिले भ्रष्टाचार नियन्त्रणको काम पनि कठिन भैरहेको बताउँदै वित्तिय कारोवार अनुशासित बनाउँदा त्यसले भ्रष्टचार र अनियमिततालाई बढवा दिनबाट रोक्ने धारणा राखिन । उनले आर्थिक अनुशासन कायम गर्न कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता पनि औल्याइन् ।
प्रतिनिधीसभा सदस्य इश्वरबहादुर रिजालले बैंकहरुले नाफा मात्रै कमाउने नभइृ वित्तिय साक्षरता बढाउने दायित्व पनि बहन गर्नुपर्ने धारणा राखिन ।
सो अवसरमा वित्तिय निति, मौद्रिक निति तथा अन्य आर्थिक मुद्दाहरुका बिषयमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल, व्यक्तिगत वित्तपोषण र बजेटिङका बिषयमा नेपाल बैकर्स संघका पूर्व अध्यक्ष भूवनकुमार दाहाल र बैकिङ र वित्तका बारेमा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रकाश पारेका थिए भने संघीय संसदका सचिवालय सचिव सुर्दशन खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।




















प्रतिक्रिया